Banner news

झापा जेलका चौकीदार लय शिवाकोटीसहित दुई जनाको सरूवा

झापा जेलका चौकीदार लय शिवाकोटीसहित दुई जनाको सरूवा


भद्रपुर । भद्रपुरस्थित झापा जिल्ला कारागारका चौकीदार लयप्रसाद शिवाकोटी र पूर्व भाई चौकीदार पासाङ शेर्पा (कुमार) को अन्यत्र सरूवा गरिएको छ ।

कारागार प्रशासनले भाई चौकीदार मनोज लावतीलाई सुनसरीस्थित झुम्का कारागार सरूवा गर्न लाग्दा शुक्रबार दिउँसो साढे २ बजे उनका पक्षका कैदीबन्दीहरू आन्दोलित बन्दै आगजानी र ढुंगामुढा गर्दा तनावग्रस्त बनेको थियो ।

कारागारको तनावपूर्णस्थित तत्काल नियन्त्रणमा लिनलाई लावतीलाई सरूवा नगर्ने आदेश आएपछि आन्दोलन शान्त बनेको थियोे । आन्दोलन पश्चात् प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीबन्दीसँग वार्ता गर्दा चौकीदार शिवाकोटी र शेर्पालाई यहाँबाट सरूवा गर्न माग राखेका थिए ।

सोही माग बमोजिम चौकीदार शिवाकोटी र शेर्पालाई आईतवार दिउँसो यहाँबाट पठाइएको झापा कारागारका प्रमुख तथा जेलर मोहनलाल पनेरुले जानकारी दिए । कारागार व्यवस्था विभागको आदेश बमोजिम शिवाकोटीलाई झुम्का कारागार र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं पठाइएको जलेर पनेरूले बताए ।

शुक्रबार करिब डेढ घण्टा आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा क्षति भएको थियोे । कैदीबन्दीले भित्रबाट ढुंगा र इँट्टा बर्साउँदा कारागारको नवनिर्मित कार्यालय भवन, गाडी, बिजुलीका सामान, सिसी टिभी क्यामेरामा क्षति पुगेको उनले बताए ।

शेयर गर्नुहोस :

0
Shares