काठमाडौँ, १२ कार्तिक । म्याड्रिड नजिकै भएको रेल दुर्घटनामा परी ६४ जनाभन्दा बढीको मृत्यु भएपछि स्पेनिस ‘कोपा डेल रे’ का बुधबार हुने भनिएका सबै २४ वटा खेलहरू उच्च सम्मानस्वरूप स्थगित गरिएका छन्।
टोलेडोमा रेलहरू आपसमा ठोक्किँदा र लिकबाट बाहिरिँदादुर्घटना भएको थियो, जसमा ५०० भन्दा बढी यात्रुहरू सवार थिए। स्पेनिस फुटबल महासंघद्वारा जारी विज्ञप्तिमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो निर्णय लिइएको उल्लेख छ।
बुधबार हुने पहिलो चरणका खेलहरूमा लेभान्ते, अलाभेस, भ्यालेन्सिया, सेल्टा भिगो र रियल बेटिस जस्ता शीर्ष श्रेणीका पाँच टोलीहरू मैदान उत्रने तालिका थियो। तर, रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिड जस्ता स्पेनका ठूला क्लबहरू भने अन्तिम ३२ को चरणबाट मात्र प्रतियोगितामा प्रवेश गर्नेछन्।
घटनापछि बार्सिलोनाले सामाजिक सञ्जालमार्फत दुर्घटनाका पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। क्लबले जारी गरेको सन्देशमा भनिएको छ, “एफसी बार्सिलोना लोस येबेनेस र उर्डा (टोलेडो) बीच भएको गम्भीर रेल दुर्घटनाका पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ। क्लब पीडित परिवार र साथीहरूसँग ऐक्यबद्धता प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।”
त्यस्तै, रियल म्याड्रिडले पनि आफ्नो आधिकारिक वेबसाइटमार्फत आपतकालीन सेवाहरूलाई पूर्ण सहयोग गर्ने जनाएको छ। क्लबले भनेको छ, “रियल म्याड्रिड सी.एफ. टोलेडो प्रान्तमा भएको दुःखद रेल दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ। ज्यान गुमाउनेहरूका परिवारजनमा समवेदना प्रकट गर्दै, घाइते तथा प्रभावित सबैप्रति स्नेह र ऐक्यबद्धता व्यक्त गर्दछौँ। साथै, उद्धार कार्यमा खटिएका सबैलाई पूर्ण सहयोग गर्न चाहन्छौँ।”
बिहीबार तय भएका खेलहरू भने यथावत रूपमा सञ्चालन हुनेछन्। यद्यपि, बुधबार स्थगित भएका खेलहरूको परिमार्जित तालिका महासंघले हालसम्म सार्वजनिक गरेको छैन।








प्रतिक्रिया