Banner news

झापा कारागार चौकीदार विहीन, नयाँ मादण्ड अनुसार सिफारिस गर्न विभागको परिपत्र

झापा कारागार चौकीदार विहीन, नयाँ मादण्ड अनुसार सिफारिस गर्न विभागको परिपत्र


बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुर चौकीदार विहीन भएको छ । भाई चौकीदारको विषयले गत शुक्रवार ठुलै हुलदंगा भएपछि चौकीदार लयप्रसाद संग्रौलाको सरुवा मागेका थिए । उनको झुक्का कारागार सरुवा भएपछि अहिले झापाको कारागार चौकीदार विहीन भएको हो ।

भाई चौकीदार मनोज लावतीलाई झुम्का कारागार सरुवाका लागि बाहिर निकाल्दा जेलभित्र ठुलो हुलदंगा भएको थियो । प्रशासन र सुरक्षाकर्मी पछि हटेकै कारण ठुलो दुर्घटनाबाट जोगिएको कारागारमा अहिले अघोषित चौकीदार बनेका छन्, लावती ।

केहि समयअघि चौकीदार शिवाकोटी र लावतीबीच भित्र वादविवाद भएको थियो । उनीहरुको द्वन्द्धले शुक्रवारको रुप लिएको अधिकांशको बुझाई छ । आर्थिक वर्ष ०८०-८१ का लागि असार मसान्तमा लावतीलाई चौकीदारका लागि सिफारिस गरिएको थियो । तर, कारागार व्यवस्थापन विभागले नयाँ मापदण्ड अनुसार सिफारिस गर्न साउन १० मा अर्को परिपत्र गरेको थियो । परिपत्रमा त्यसअघिको सिफारिस स्वतःखारेज भएको समेत जनाइएको बुझिएको छ । मापदण्डमा नपर्ने भएपछि लावतीलाई झुम्का पठाएर नयाँ चौकीदार सिफारिस गर्ने तयारी गर्दै गर्दा कारागारमा समस्या उत्पन्न भयो ।

अहिले आधिकारिक रुपमा कोहि पनि चौकीदार छैनन्, जेलर मोहनलाल पनेरुले भने – बुझ्नमा आएसम्म लावतीलाई चौकीदार बनाइएको छ । विभागले नतोकेसम्म आधिकारिक चौकीदार मानिने छैन । तत्काललाई चौकीदारको विषय प्रक्रियामै रोकिएको छ । उत्पन्न विवाद मत्थर नभएसम्म प्रक्रिया अघि नबढ्ने बुझिएको छ । आन्तरिक माहोल सहज भएपछि प्रक्रिया अघि बढाइने जेलर पनेरु बताउँछन् ।

सबैजसो जेलमा चौकीदार बन्न ठुलै रस्साकस्सी हुने गरेको छ । सोही बमोजिम झापामा पनि चौकीदारको लडाई देखियो । विगतमा पनि वरियता क्रममा निकै तल रहेका शिवाकोटीलाई चौकीदार बनाउदा विरोध भएको थियो । चौकीदार भएपछि भित्रको व्यवहारमा अगुवाई गर्न पाउने, विभिन्न शिर्षकमा आर्थिक लाभ लिन पाइने र अन्य कैदीको तुलनामा स्वतन्त्रता हुने गरेको बुझिएको छ । कारागार विभागले दिने पैसा र चामल आफै बुझेर चौकीदारले भित्र व्यवस्थापन गर्ने गरेको कारागार प्रशासनले जनाएको छ । चौकीदारले एकमुष्ट पैसा बुझेर भित्र मेस चलाउने गर्छन् । भित्र रहेका पसलहरुबाट महंगोमा सामग्री विक्रि गर्ने, विभिन्न सुविधामा पैसा लिने गरेको बताइन्छ ।

साढे ७ सय क्षमताको झापा कारागारमा अहिले १५ सय भन्दा धेरै कैदीवन्दी रहेका छन् । २०२० सालमा स्थापना भएको झापा कारागार जीर्ण, अव्यवस्थित र दुर्गन्धित बन्दै गइरहेको छ । कारागारका लागि कलवलगुरी क्षेत्रमा १० विगा जमिन पास भइसके पनि निर्माणका लागि कसैले पनि अगुवा गरेका छैनन् ।

शेयर गर्नुहोस :

0
Shares