Banner news

गौहत्याको विरोधमा धरान हिडेका हिन्दुवादीलाई चारपानेमा रोकियो, राजमार्ग अवरुद्ध

गौहत्याको विरोधमा धरान हिडेका हिन्दुवादीलाई चारपानेमा रोकियो, राजमार्ग अवरुद्ध


झापा । गौ हत्याको विरोधमा धरान हिडेकाहरुलाई झापा प्रशासनले चारपानेमा रोकेको छ । बस रोकिएपछि हिन्दु धर्मावलम्बीहरुले सडकमै विरोध जनाइरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा हिडेको समूहलाई प्रहरीले रोकेपछि प्रहरी प्रशासन विरुद्ध नाराबाजी भइरहेको छ ।

झापाबाट जाँदै गरेको बस जिल्ला प्रशासन कार्यालयले चारपानेमा रोकेको हो । प्रशासनले बाटो छेकेर अगि बढ्न नदिएपछि हिन्दु धर्मावलम्बीहरुले गौ हत्या गर्न पाइदैन, हिन्दु राष्ट्र कायम गर भन्दै नाराबाजी गरिरहेका छन् । शंख ध्वनीसहित विरोध जनाइरहेका उनीहरुले गौ हाम्रो आमा हुन्, गौ हत्यारालाई कारबाहीको माग गरेका छन् । उनीहरुको विरोधका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

धरानमा प्रदर्शनका लागि हिडेका धर्मगुरु लक्ष्मीप्रसाद खतिवडाले संविधानले दिएको अधिकार प्रयोग गर्न राज्यले बञ्चित गर्नु दुःखद भएको बताए । उनले गौ हत्या बिरुद्ध आयोजित सभा बिथोलेर सरकारले हिन्दु धर्ममाथि प्रहार गरिरहेको आरोप लगाए ।

धरानमा केही दिन अघि गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसको बिरोधमा हिन्दु धर्मावलम्बीहरुले सोही स्थानमा शान्तिपुर्ण बिरोध प्रदर्शन गर्ने तयारी गरेका थिए ।

प्रदर्शनका क्रममा हुन सक्ने अप्रीय क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राती १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । धरान नगरपालिकाभरी कुनैपनि जुलुस तथा सभा गर्न प्रशासनले रोक लगाएको छ । प्रशासनको अवरोधका बाबजुदपनि धरान जाँदै गरेका हिन्दु धर्मावलम्बीलाई प्रत्येक जिल्लामा नै रोकिएको हो ।

शेयर गर्नुहोस :

0
Shares