Banner news

बिर्तामोडमा कृष्ण रथयात्रा हुने

बिर्तामोडमा कृष्ण रथयात्रा हुने


बिर्तामोड । झापाको बिर्तामोडमा श्री कृष्ण रथयात्रा हुने भएको छ । श्री कृष्ण प्राकाट्यको भोलिपल्ट भदौं २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्राको आयोजना गरिने भएको हो ।

धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा रथयात्रा गरिने शनिबार साँझ आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।

भगवान श्री कृष्णको जन्म उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा गरिने र रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक श्री बालाजी मन्दिर समितिका अध्यक्ष नविन गोयलले जानकारी दिए ।

अध्यक्ष गोयलका अनुसार भदौ २१ गते बिहान १० बजे विषेश पूजाअर्चाना गरिने र ११ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने छ । त्यस्तै सतगुरु श्री देवचन्द्र सदनबाट पनि रथयात्रा शुरु भई दुवै रथयात्रा बालाजी मन्दिर अगाडि शनिश्चरे रोडमा भेट हुने र त्यस पश्चात बिर्तामोड बजार परिक्रमा गर्ने अध्यक्ष गोयलले जानकारी दिए ।

दुबै रथयात्रा बिर्तामोडस्थित मुक्तिचोक–इलाका प्रहरी कार्यालय छेउबाट फर्किएर मुक्तिचोक – भद्रपुर बस स्टेण्ड–मुक्तिचोक र अधुवाखोला पुल हुँदै फेरी मुक्तिचोक भएर मन्दिरमा आएर समापन हुने सतगुरु श्री देवचन्द्र सदन युवा परिषद प्रा.स अध्यक्ष बिदुर खनालले जानकारी दिए ।

सदगुरु सदनले अघिल्लो वर्ष पनि रथयात्रा निकालेको थियो । यस पटक भने बालाजी मन्दिरसँग सहकार्य गरेर संयुक्त निकाल्ने निर्णय भएको उनले बताए । शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणको लागि यस पटक संयुक्त रथयात्रा गर्न लागिएको बालाजी मन्दिरका अध्यक्ष गोयलको भनाई छ ।

त्यस्तै श्री कृष्ण जन्माष्टमीको दिन यहि भदौ २० गते चारआलीका भजन गायक रतन भारद्वाजद्धारा बिर्तामोडस्थित बालाजी मन्दिरमा साँझ भजन कीर्तन गरिने र भारतको हरियानाबाट आएकाहरुले हनुमान जीको झांकी प्रदर्शन र श्री कृष्णको जन्मउत्सव भव्य रुपमा गरिने कार्यक्रम तय भएको पनि जनाइएको छ ।
रथयात्रालाई सभ्य र भब्य बनाउनकालागि रथयात्रा समन्वय तथा ब्यव्स्थापन समिति समेत गठन भएको जनाइएको छ ।

समितिमा बालाजी मन्दिरका तर्फबाट अध्यक्ष नबिन गोयल, सदस्य रमेश सेडिया, सदस्य सुजित अग्रवाल, छठ समाजबाट राजकुमार शाह र सदगुरु सदनबाट युवा परिषद प्रा.स अध्यक्ष बिदुर खनाल, जिल्ला अध्यक्ष टहलदास ओली, कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गाना रहेको बताइएको छ ।

रथयात्रा व्यवस्थापनका लागि भएको छलफलमा श्री कृष्ण प्रणामी नेपाल युवा परिषद कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गाना, झापा अध्यक्ष टहलदास ओली, मारवाडी सेवा समिति अध्यक्ष मोहन मित्तल, श्याम मन्दिर निमार्ण समितिका संयोजक सुरेश वंशल, सतगुरु सदन युवा परिषद प्रा.स. अध्यक्ष बिदुर खनाल, अग्रेसन भवनका अध्यक्ष सुरेश अग्रवाल भद्रपुरे लगायतले रथयात्रालाई व्यवस्थापन संगै कसरी सफल बनाउने भन्ने बिषयमा आआफ्नो धारणा राखेका थिए ।

शेयर गर्नुहोस :

27
Shares