बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तारा नमस्ते बालग्रामले ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर आज ८ औं बार्षिक साधारणसभासहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।
हाल बालग्राममा १२ जना बालक र १० जना बालिकासहित २२ जना आश्रित रहेका छन् । २०६९ सालमा स्थापित तारा नमस्ते बालग्रामले सुविधा सम्पन्न आधुनिक पक्की भवन निर्माण गरेको छ । सरकारका विभिन्न तह र दाताहरुको सहयोगमा ३ कठ्ठा ५ धुर जमिनमा १७ कोठाको ३ तले भवन निर्माण गरिएको छ । सोही भवनमा आश्रित बालबालिकाहरु बस्दै आएका छन् ।

बालगृह महासंघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रतियोगितासहित नृत्य प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बराल, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, शिक्षासेवी गुरुभक्त न्यौपाने, शिरो सान्दाई लगायतले शुभकामना मन्तव्य राखेका छन् ।
बालग्राममा आश्रित बालबालिकाहरुलाई अध्ययनका लागि बिर्तामोडका नीजि विद्यालय र उपचारका लागि अस्पतालहरुले सहयोग गर्दै आएका छन् । बालग्राम सञ्चालनका लागि संस्थाका संरक्षक तारा नमस्ते फाउण्डेशन स्वीजरल्याण्डका अध्यक्ष उज्वल पोखरेल र स्वीजरल्याण्ड निवासी राफेल गेग्लरले विशेष सहयोग गर्दै आएका छन् ।
आगामी वर्ष पुस्तकालय निर्माण, अध्ययन अवलोकन, कम्पाउण्ड वाल निर्माण, बालग्राम जाने सडक निर्माण गर्ने योजना अघि सारिएको संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिए ।
संस्थाका सचिव दिपेन्द्र राउतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष याम विमलीले स्वागत गरेका थिए । अध्यक्ष पोखरेलले बालग्रामको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।







प्रतिक्रिया