९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या
झापा । झापामा २०७७ साउन देखि यता शनिवारसम्म ९ सय ९९ सय जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३४ जनाले आत्महत्या गरेको प्रहरीको भनाई छ ।
आत्महत्या गर्नेहरुले धेरैजसो झुण्डिने र विष सेवन गर्ने गरेको पाइएको छ । आत्महत्या न्यूनिकरणका लागि विभिन्न संघ संस्थाहरुले अभियान सञ्चालन गरिरहे पनि दर घटेको पाइदैन । शरिरमा आगो लगाउने, गोली हानेर र हातहतियारको प्रयोगबाट आत्महत्या गर्नेको संख्या सबैभन्दा कम छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङक अनुसार आत्महत्या गर्नेहरुमा १६ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुको संख्या उच्च छ । त्यसमा पुरुषको संख्या उच्च छ ।
चिकित्सहरुले आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ब्युटिफुट माइण्ड इन्स्टिच्युट अफ साइकियाट्रीकको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा शनिवार आयोजित चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रममा आत्महत्याको सोच आउने बिरामीको उपचार सम्भव भएको बताइयो ।
कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तानाले मानसिक रोगीको उपचार ग¥यो भने निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताए । उनले भने, “मानसिक रोगको समयमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।”
आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि उक्त व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने भन्दै उहाँले उपचार गरे भने झनै कम हुने बताए । आत्महत्याको सोच आउने व्यक्तिले आफ्ना कुरा अरुलाई सुनाउने मौका पाउनुपर्ने भन्दै उनले भने, “कुरा सुनाइसकेपछि कारण के हो ? कुन खालको मानसिक स्वास्थ्य अवस्था हो, त्यसको उपचार खोज्नुपर्छ ।”
आत्महत्या अघि मानिसको मनमा विवाद आउने जनाउँदै उनले भने, “व्यक्तिले ‘मेरो समस्याको समाधान के होला त ? के गर्दा मैले यो समस्याबाट छुटकारा पाउँछु, समाजले अब त मलाई बचाउन सक्दैन, म अब सबैको घृणित भइसकेँ, अब मैले के गर्नुपर्ला ?’ जस्ता विवादका सोच आउँछन् ।” यस्तो अवस्थामा व्यक्तिले एउटा मात्रै उपाय आत्महत्या देख्ने उनको भनाइ छ ।
कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उनले सही व्यवस्थापन पनि गर्नुपर्ने बताएका छन् । “औषधिसँगै व्यक्तिको सही व्यवस्थापन हुन सकेन भने मानसिक रोग बल्झिन्छ, मानसिक रोग बल्झेपछि फेरि आत्महत्याको सोच आउँछ ”, उनले भने – करिब ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको उनको भनाइ छ । उनले मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने बताए ।
चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोशिस गरेको हुने भन्दै उनले भने, “आठ पठक आत्महत्याको कोसिस गरिसकेपछि बल्ल उ आत्महत्या गर्न पुग्छ ।” यिनै चरणको समयमा उक्त व्यक्तिलाई परामर्श र उपचारबाट रोक्न सकिने उनको भनाइ छ ।
नेपालको स्वास्थ्य बजेटको शुन्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको जानकारी दिँदै डा भन्तानाले मानसिक स्वास्थ्यबिनाको शारीरिक स्वास्थ्य कल्पना गर्न पनि नसकिने बताए । उनले भने,े “मानसिकरुपमा बिरामी छ भने शारीरिक रुपमा उ स्वस्थ हुनै सक्दैन ।”
आत्महत्या रोकथामका लागि जनचेना फैलाउने, उपचार गर्ने र व्यवस्थापन गर्नुपर्ने भन्दै उनले भने, “उपचारपछि रोजगारी पाओस्, परिवार र समाजबाट घृणित हुन नपरोस् ।” गत वर्ष नेपालमा सात हजार एक सय १५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट रहेको जनाउँदै उहाँले त्यो आत्महत्या कोसिसको १४ दशमलव ४८ प्रतिशत मात्रै भएको जानकारी दिए ।
मानसिक स्वास्थ्य, आर्थिक तनाव, सामाजिक र सांस्कृतिक कारण, घरेलु हिंसा, प्राकृतिक विपत्ति, मानसिक स्वास्थ्य सेवाको अभाव, सांस्कृतिक अस्थाका कारणसमेत आत्महत्या गर्ने गरेको उनीहरुको भनाइ छ ।







प्रतिक्रिया