Banner news

ईलामको सरस्वति माविले धेरै आलटालपछि दियो आंशिक सूचना, सिडीमा नदिई ५५ सय राजश्व असुली

ईलामको सरस्वति माविले धेरै आलटालपछि दियो आंशिक सूचना, सिडीमा नदिई ५५ सय राजश्व असुली


बिर्तामोड । ईलामको रोङ गाउपालिका–६ मा रहेको सरस्वति माबि रम्भ्याङले लामो समयको आलटालपछि आंशिक सूचना उपलब्ध गराएको छ । सूचनाको हक प्रयोग गरेर सूचना माग गर्दा समेत विद्यालयले सहजै सूचना उपलब्ध गराएको थिएन ।

स्थानीय सरिष्मा योङहाङले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको सूचनाको हक प्रयोग गर्दा समेत विद्यालयले महिनौ आलटाल गरेको थियो । सूचना मागकर्ता योङहाङले आज १११४ पेजमा सूचना पाएकी छन् । उनले सिडी मार्फत सूचना उपलब्ध गराइदिन माग गरेकी थिइन् । उनले पहिलो पटक भदौैं १९ र दोस्रो पटक असोज ७ गते निवेदन पेश गरेकी थिइन् ।

उनले विद्यालयको आर्थिक गतिविधि, भौतिक निर्माण, निर्णय लगायतका सूचना माग गरेकी थिइन् । सूचना माग गर्न निवेदन लिएर जाँदा विद्यालयका प्रधानाध्यापक गोबिन्द पौडेलले ‘के को नाटक गरेको’ भन्दै योङहाङलाई पहिलो दिन नै धम्की दिएको बताइन् ।

प्रअ पौडेलले भदौं १९ गते विद्यालयमा सूचना माग गरेको निवेदन समेत लिन नमानेपछि योङहाङले हुलाक मार्फत असोज ७ गते निवेदन पठाउनु परेको थियो । हुलाक मार्फत सूचना माग गरेपछि विद्यालयका सूचना अधिकारी मनिष आचार्यले गत कात्र्तिक २२ गते सूचना लिन २० गते पत्र पठाएका थिए । योङहाङले भनिन्, म घरमा नभएको थाहा पाएर २२ गते बोलाइएको थियो, २३ गत पुग्दा सूचना पाइएन । २२ गते दिन बोलाइएको सूचना २३ गते दिन के अप्ठ्यारो भयो ?

सूचना मागकर्तालाई सहजै सूचना उपलब्ध गराउनु पर्ने व्यवस्था भएपनि महिला भनेर प्रअ पौडेलले हेप्ने, थर्काेउने र विभिन्न बहाना बनाउने गरेको गुनासो गरिन् ।

समयमा सूचना नपाएपछि योङहाङले राष्ट्रिय सूचना आयोगमा कार्तिक १३ गते पुनरावेदन गरेकी थिइन् । उनको पुनरावेदनपछि आयोगले विद्यालयलाई ७ दिनभित्र जवाफ पठाउन आदेश गरेको थियो । सूचना दिन नपर्ने कुनै कारण भए सोको आधार र प्रमाण आयोग समक्ष लिखित व्यहोरा पठाउन आदेश गरेको सूचना आयुक्त कमला ओली थापाले बताइन् । उनले सूचना मागकर्ताले मागे बमोजिम जे मार्फत मागिएको छ, सोही अनुसार उपलब्ध गराउनुपर्ने व्यवस्था भएको जानकारी दिइन् ।

विद्यालयका सूचना अधिकारी मनिष आचार्यले आंशिक सूचना दिएको स्वीकार गरेका छन् । उनले विद्यालयको लेखा परीक्षण नभएकोले उक्त प्रतिवेदन उपलब्ध नगरएको जानकारी दिए । लेखा परीक्षण पछि माग गरिएको विल भरपाई पनि उपलब्ध गराउने आचार्यको भनाई थियो ।

उनले पहिलो पटक निवेदन लिएर आउँदा नेपाली नागरिक भएको प्रमाण पेश गर्न विधालयले भनेको साँचो भएको बताए । दोस्रो निवेदन पश्चाड चाडवाडका कारण ढिलाई भएको उनको तर्क छ । सूचना अधिकारी आचार्यले प्रति पेज पाँच रुपैयाँ बराबरको ५ हजार ५ सय ७० रुपैयाँ राजश्व समेत लिएका छन् । जबकि, १० पेज निशुल्क दिनुपर्ने कानुनी व्यवस्था छ । उक्त रकम बुझए वापत विद्यालयले विल समेत उपलब्ध नगराएको योङहाङले जानकारी दिइन् ।

यता, सूचनाको हकका अभियन्ताहरुले सूचना मागकर्ताहरुबाट ठुलो रकम राजश्व वापत उठाउनु भनेको सूचना नदिने नियत भएको बताउँछन् । धेरै पेज तयार गरेर धेरै राजश्व रकम बुझाउनुपर्ने बाध्यता बनाउनु हुदैन, अभियन्ताहरु भन्छन् – धेरै राजश्वभन्दा सूचना लिन नजाने स्थिति छ । त्यहाँ पनि त्यहि गरिएको हो । सिडीमा मागेपछि सिडी मै उपलब्ध गराउनुपर्ने थियो ।

विद्यालयका प्रअ गोविन्द पौडेलसँग थप जानकारी लिन सम्पर्क गर्दा फोन उठेन ।

शेयर गर्नुहोस :

27
Shares