Banner news

पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कार्यक्रममा ‘श्री ५’ को शिलालेख, मेटाउन लगाउने सीडीओको तयारी

पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कार्यक्रममा ‘श्री ५’ को शिलालेख, मेटाउन लगाउने सीडीओको तयारी


बिर्तामोड । तामझामका साथ झापाको बिर्तामोड १ स्थित इकम कलेजले पृथ्वीनारायण शाहको सालिक अनावरण गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिवार सालिक अनावरण गरेका हुन् । सोही क्रममा इकम कलेजको समेत उद्घाटन गरेका थिए ।

इकम कलेजले राजतन्त्रको अन्त्य भएको वर्षौपछि पूर्व राजाको नाम शिलालेखमा बहालवाला राजा सरह लेखेपछि चौतर्फी विरोध सुरु भएको छ । नेपाल सरकारको नीति नियम बमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको छ । शिलालेखको लेखाई अनुसार कार्यक्रम आयोजक संस्थाले संविधानको ठाडो उल्लंघन गरेको छ ।  कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको छ ।

कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले शिलालेखमा त्रुटि भएको स्वीकार गरेका छन् । उनले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्माट अनुसार शिलालेख तयार गरिएको जानकारी दिए । उनले भने – शिलालेख तयार भइसकेपछि हामीले पनि महसुस गरेका थियौं । तर, समय अभावले सच्याउन सकेनौं । आज विदा छ, २ दिनभित्र पूर्व राजा लेखेर अर्को शिलालेख राख्नेछौं । उनले आफुहरु संविधान विरुद्ध नरहेको स्पष्ट समेत पारेका छन् ।

कार्यक्रममा राष्ट्रिय गान ‘सयौं थुगा फुलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । सो सन्दर्भमा जिज्ञासा राख्दा उनले भने, राष्ट्रिय गान नबझाउन अनुरोध थियो । तर, बझाउन नपाएकोमा खल्लो लागेको छ ।

पूर्व कानुनमन्त्री अग्नी खरेलले राजतन्त्र नभएको देशमा कलेजले राजा छन् भन्ने सन्देश दिन खोजेर गम्भीर त्रुटि गरेको बताएका छन् । उनले उक्त कलेजलाई तत्काल त्रुटि सच्याउन भनेका छन् । संविधान विपरिज जान कसैलाई छुट नभएको उनको धारणा छ ।

कलेजले शिलालेखमा लेखेको पद मुलुकमा नरहेको बताउदै उनले संविधानले राजा नचिन्ने स्पष्ट बनाएका छन् । यो गणतन्त्रात्मक देश हो, यहाँ कुनै राजा महाराजा छैनन्, खरेलले भने – पूर्व राजा वा तत्कालिन राजा लेख्न मात्रै पाइन्छ ।
पूर्व महान्यायधिवक्ता समेत रहेका खरेलले ‘श्री ५ महाराजधिराज’ लेख्दा पनि नेपाल सरकारले के हेरेर बसरिहेको छ भन्दै प्रतिप्रश्न गरेका छन् । उनले राजतन्त्र अन्त्य भइसकेको अवस्थामा राजा छन् भन्ने सन्देश दिनु शैक्षिक संस्थाको ठुलो कमजोरी भएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हुदै नभएको पद लेख्न नपाइने बताएका छन् । यो विषय जानकारी लिइरहेको छ, लेख्न नमिल्ने विषय लेखेको भए तत्कालै मेटाउन लगाइने जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares