Banner news

संघीय सरकारसँग सहकार्य मात्रै हैन संघर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

संघीय सरकारसँग सहकार्य मात्रै हैन संघर्ष पनि गर्छौ : मुख्यमन्त्री कार्की

मोरङ, १२ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश मुख्यमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयद्वारा मङ्गलबार विराटनगरमा आयोजित स्थानीय तहहरुको असल अभ्यास आदान प्रदान विषयक अन्तरक्रिया कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्दै । तस्बिर : मनोज दाहाल/रासस

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्य मात्रै नभई संघर्ष पनि गर्ने बताएका छन् । मङ्गलवार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्नेहो भन्ने कोराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न संघर्ष पनि गर्दछ ।’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दीगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने बताए । ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्य गर्दै छौँ, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, संघले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ । उनले भने, ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गरेका थिए । संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताए । उनले भने, ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ ।’ मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिजर्ना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गरेका छन् ।

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरुको प्रयोग हुन नसकेको बताए । कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । संघीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा बुधबारसम्म प्रस्तुति दिइने छ ।

शेयर गर्नुहोस :

0
Shares