Banner news

‘शिवसताक्षी शिक्षामा गरेको लगानी अनुसार नतिजा निकाल्ने योजनामा छ’

‘शिवसताक्षी शिक्षामा गरेको लगानी अनुसार नतिजा निकाल्ने योजनामा छ’


लगभग भौतिक पूर्वाधार सम्पन्न रहेको शिवसताक्षीको शिक्षा क्षेत्रमा अब गुणस्तरवृद्धिमा केन्द्रीत भइरहेको छ । कसरी हुन्छ, विद्यालय क्षेत्रमा सुधार ल्याएर शैक्षिक गुणस्तर वृद्धि गर्ने नगरको योजना छ । भौगोलिक हिसावले ठुलो शिवसताक्षी नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । २४ वटा संस्थागत, ३ वटा धार्मिक, २ वटा सामुदायिक सिकाई केन्द्र र ६२ वटा बालविकास केन्द्रहरु रहेका छन् । शिक्षा विभाग अन्तर्गत प्राविधिक विषय पठनपाठन गर्ने भानु मावि र गणेशमानसिंह अध्ययन प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।

शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकालले नगरमा ६१ प्रतिशत विद्यार्थीहरु सामुदायिक र २९ प्रतिशत विद्यार्थीहरु निजी विद्यालयमा अध्ययन गरिरहेको जानकारी दिए । उनले शिक्षामा केन्द्रको ससर्त अनुदान र नगरको २ करोड ७० लाख ७५ हजारसहित कुल बजेट ३३ करोड ३८ लाख ७३ हजार रहेको बताए । नगरमा शिक्षा क्षेत्रमा कुल बजेटको २७ प्रतिशत लगानी भएको छ ।

गुणस्तर सुधारमा केन्द्रीत भएको शिवसताक्षी नगरपालिकाले कक्षा ८ को नतिजामा प्रगति हासिल गरेको छ । गत वर्षभन्दा राम्रो नतिजा आएको बताइएको छ । कक्षा ८ को उतिर्ण प्रतिशत ९४ र गत वर्षको नतिजा अनुसार एसईईमा ९३ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए । कक्षा १२ को परीक्षामा २९ प्रतिशत मात्रै उर्तिर्ण भएको शिक्षा शाखाले जनाएको छ । उक्त नतिजाले कक्षा १२ मा थप मेहनत गर्नुपर्ने देखिएको छ । लगानी अनुसार परिणाम नआएपछि नगरको शिक्षा शाखाले नतिजा सुधारका लागि आवश्यक योजनासहित काम थालेको छ ।

स्मार्ट विद्यालय

गुणस्तर सुधारका लागि शिवसताक्षीले ३ वटा विद्यालयमा स्मार्ट विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको छ । बाल सेवा आधारभुत विद्यालय, सुर्योदय आधारभुत विद्यालय र बालनिकुञ्ज माविमा कार्यक्रम सञ्चालन छन् । यो वर्ष पनि कार्यक्रम सञ्चालित विद्यालयहरुलाई निरन्तरता दिदैं ४ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय रमणीय आधारभुत विद्यालय, लक्ष्मी नारायण मावि, झिलझिले मावि, लालपानी माविका कार्यक्रम सञ्चालन गरिनेछ ।

स्मार्ट विद्यालयको अवधारणा अनुसार कक्षाकोठाहरुलाई आकर्षक बनाइनेछ । प्रविधिमैत्री र अध्ययनका लागि वातावरणमैत्री बनाइने छ । शिक्षा शाखा प्रमुख भन्छन्, विद्यार्थीहरु कक्षा कोठा प्रवेश गर्दा पढौपढौं लागोस् । सिकाईलाई थप सहयोग पुग्ने गरिको कोठाहरु बन्नेछन् । यो कार्यकालमा हरेक वडामा १÷१ वटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने लक्ष्य रहेको छ ।

बाल निकुञ्ज माविलाई नगरपालिकाले बस खरिदका लागि १५ लाख सहयोग गरेको छ भने वडाले ५ लाख र बाँकी विद्यालयले व्यवस्थापन मिलाउने छ ।

ज्ञान घर निर्माण

नगरपालिकाले कक्षा ११ का विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्थासँगै प्राविधिक धार तर्फबाट विद्यार्थीहरुलाई समेत छात्रवृत्ति प्रदान गर्दै आएको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानमा पनि नगरपालिकाले गत वर्ष ४ जना विद्यार्थीहरुलाई ५० प्रतिशतमा अध्ययनको वातावरण मिलाएको थियो भने यो वर्ष पनि १ जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाएको छ ।

यस्तै, नगरपालिकाले नगरभित्र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ज्ञान घर निर्माणको काम गरिरहेको छ । अध्ययन गर्ने बानीको विकास गर्न विभिन्न स्थानमा नगरपालिकाले ज्ञान घर निर्माण गरेको हो ।

शैक्षिक गुणस्तर सुधार गर्न कार्यशाला

शिवसताक्षी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासँग कार्यशाला पनि गर्ने भएको छ । शिक्षा शाखा प्रमुख ढकालका अनुसार कार्यशालाले विद्यालय क्षेत्रको कमजोरी सच्याउन मद्दत गर्नेछ भने गुणस्तर सुधारका लागि सुझावहरु संकलन गर्ने छ । ५ वटा विद्यालय छनौट गरेर नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । सतासी आवि, शिव आवि, बालज्योती आवि,जनता आवि र भीमनारायण आविमा कार्यशालाको तयारी गरिएको छ । कार्यशालामा नगर प्रमुख, उपप्रमुख, शिक्षक कर्मचारी, अभिभावक र सरोकारवालाबीच पर्याप्त अन्तरक्रिया गरिने छ ।

पहिलो चरणमा वडा नं. ९ मा कार्यशाला सम्पन्न गरिएको छ । यस्तै, नगरभित्र दुई वटा विद्यालयमा लिम्बू भाषाको पठनपाठन भइरहेको छ । बालनिकुञ्ज मावि र बाल सेवा आधारभुत विद्यालयमा मातृभाष लिम्बू पाठ्यक्रममा पठनपाठन भइरहेको छ ।

नगरले स्रोत शिक्षकबाट अनुगमन तथा निरीक्षण गरिरहेको छ । विद्यालयहरुले शैक्षिक योजना बमोजिम काम गरे नगरेको पूर्वप्रधानाध्यापकहरुको समितिले अनुगमन गर्ने र समस्याको संकलन गरेर समाधानका लागि सहयोग गर्दै आइरहेको छ । नगरमा स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय विज्ञ छनौट गर्ने ठाउँमा पुगिसकेको शिक्षा शाखाका प्रमुख ढकालले जानकारी दिए ।

मेयरसँग विद्यार्थी कार्यक्रम

शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम बनाएको शिवसताक्षीले रातदिनको मेहनतबाट शैक्षिक गुणस्तर सुधारमा परिणाम खोजिरहेको छ । त्यसका लागि आवश्यक योजना तथा कार्यक्रमहरु सञ्चालन पनि गरिरहेको छ ।

नगरमा यसअघिदेखि नगर प्रमुख र विद्यार्थीबीच अन्तरक्रिया गर्ने मेयरसँग विद्यार्थी कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले खुलेर आफ्नो कुरा राख्न पाउने ठाउँ भएको मेयरसँग विद्यार्थी कार्यक्रम यो पटक पृथक बनाइएको छ । सोही कार्यक्रम अन्तर्गत पाक कला सिकाउने तयारी भएको छ । शैक्षिक विकाससँग सम्बन्धित अन्तरक्रिया समेत गरिने उक्त कार्यक्रमलाई सीप विकासको कार्यक्रमको रुपमा आयोजना गरिने शाखा प्रमुख ढकालले जानकारी दिए ।

कानुनी र नीतिगत समस्या नभए तत्कालै सेवा दिने शिक्षा शाखाले नगरक्षेत्रमा भौतिक पूर्वाधार निर्माणको काम धेरैजसो पुरा भइसकेको जनाएको छ । यसैले गुणस्तर सुधारको ठाउँमा पुगेको उनको भनाई छ । शिवसताक्षीले आवासीय विद्यालय समेत सञ्चालन गर्न सक्ने अवधारणा अघि सारिएको छ ।

जनप्रतिनिधिहरुको प्राथमिकता

शिवसताक्षीका जनप्रतिनिधिहरु सकारात्मक भएकाले नै शिक्षामा सुधारको प्रयास भइरहेको छ । शिक्षा शाखा प्रमुख ढकाल भन्छन्, शिक्षा सामाजिक विकासको क्षेत्र भएकाले जनप्रतिनिहरु धेरै सकारात्मक हुनुहुन्छ । उहाँहरु शिक्षामा परिवर्त ल्याउनका लागि क्रियाशिल भएको उनको भनाई छ ।

अहिले विद्यालयका समस्याहरु तत्कालै सम्बोधन हुन थालेका छन् । कानुनी र नीतिगत बाहेक शाखाका काम तत्कालै गरिदिने व्यवस्था शिक्षा शाखामा लागु भइरहेको छ ।

शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी संख्या भन्दा गुणस्तरीय परिणाम निकाल्न जोड दिइरहेको नगरपालिकाले सरोकारको राख्ने समुदाय र विद्यालयबीचको सम्बन्ध जोड्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको शाखा प्रमुख ढकालले जानकारी दिए । – शिवसताक्षी सेरोफेरोबाट

शेयर गर्नुहोस :

0
Shares