Banner news

शिवसताक्षीको नगर गौरवका आयोजनाहरु अन्तिम चरणमा

शिवसताक्षीको नगर गौरवका आयोजनाहरु अन्तिम चरणमा


रिङ रोड
शिवसताक्षी नगरपालिकाले पहिलो कार्यकालको प्रथम नगरसभाबाट नगरको गौरवको आयोजनाको रुपमा रिङ रोडको अवधारणा ल्याएको थियो । सोहि अवधारणा बमोजिम शिवसताक्षी नगरपालिकाले नगर रिङ रोड निर्माण गरिरहेको छ । पहिलो कार्यकालपछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुले पनि नगर गौरवको आयोजनाको रुपमा रहेको रिङ रोड निर्माणलाई प्राथमिकता दिएका छन् ।

सबै वडामा पुग्ने गरी रिङ रोड र नगरपालिकासँग नजोडिएका वडालाई सिधैं नगरसम्म जानका लागि लिंक रोड निर्माण गरिएको छ । वडा नं. १० का नागरिकहरु घुमेर आउनुपर्ने स्थिति थियो । त्यस्तै समस्या धेरै वडामा थियो । जसलाई ट्रंक तथा लिंक रोडले सहज बनाएको छ ।

नगर रिङ रोडमा पूर्वपश्चिम लोकमार्ग र शिवगञ्ज–व्याङडाँडा रोड बाहेक कालोपत्रे गर्ने गरि काम भइरहेको छ । आफ्नै स्रोतबाट निर्माण गर्ने लक्ष्य रहेको रिङ रोडको ३९ किमिमध्ये ११ किमि सडक निर्माणको काम बाँकी रहेको सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार वडा नं. ९ र १० मा पर्ने सडकमा कालोपत्रे बाँकी रहेको छ । यसै आर्थिक वर्षमा व्याङडाँडादेखि झरना पुलसम्म कालोपत्रे गरिएको छ ।

स्थानीय नागरिकलाई आवातजावतमा सहज पहुँच होस् भन्ने उद्देश्य निर्माण गरिएको रिङ रोडले गाउँलाई शहरसम्म सहजै जोड्ने काम गरेको छ । माइधार–धरमपुर, दक्षिणमा मंगलवारे–घेरावारी, कमल पुल–पाँचगाछी बजार हुँदै बुलोचोकबाट वडा नं. ४ र ५ हुँदै शिवगञ्ज जोडिएको सूचना अधिकारी चौधरीले जानकारी दिए । उनले शिवगञ्जबाट व्याङडाँडा पूर्व झरना पुल हुँदै चिल्लागढ–नहरसम्म जोडिने बताए । यस्तै, ट्रंक रोड शुक्रवारेदेखि नगरपालिका, मंगलवारे देखि नगरपालिका जाडिएको उनको भनाई छ । नगरपालिकाले ४ वटा लिंक तथा ट्रंक रोडको लक्ष्य राखेको थियो ।

हरेक वर्ष सडकमा दुख सास्ती भोग्नुपर्ने, वर्खामा आवतजावत गर्न नै समस्या हुने र सडकको समेत स्तरोन्नति हुने भएकाले ६० फुटे रोड निर्माण गरिएको हो । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको सूचना अधिकारी चौधरीले जानकारी दिएका छन् । उनले बजेट अभावका कारण २५ प्रतिशत काम रोकिएको बताए ।

कृषि बजार
शिवसताक्षी नगरपालिकाले वडा नं. ६ कृषि थोक बजार निर्माण गरिरहेको छ । कृषि क्षेत्रमा क्रान्ति गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको कृषि मण्डीको खुद्रा बजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । खासगरी स्थानीय किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले १ विगाह १० कठ्ठा क्षेत्रफलमा उक्त परियोजनाको निर्माण गरिरहेको बताइएको छ । सूचना अधिकारी प्रकाश चौधरीका अनुसार कृषि मन्त्रालय अन्तर्गत कृषि विभागले कृषि मण्डी निर्माणमा लगानी गरेको छ ।

३५ लाखको डिपिआर गरेर विभागले १२ करोडको लागत अनुमान गरेको थियो । डिपिआर अनुसार २०७७ बाट निर्माण सुरु गरिएको परियोजनाको दुई संरचनामध्ये एउटा संरचना निर्माण सम्पन्न भइसकेको छ । ०७८ मा १ करोड ६० लाख नगद प्राप्त भएपछि नगरपालिकाले निर्माणको काम थालेको थियो । कृषि मण्डीको खुद्रा बजारमा किसानलाई खुद्रा ब्यापारमा सहयोग गर्ने उद्देश्यले निर्माण गरिएको छ भने अर्को कृषिथोक बजारको काम बाँकी छ । सडकको दक्षिण क्षेत्रमा १० कठ्ठा जमिन छ । जहाँ खुद्रा बजार निर्माण अन्तिम चरणमा पुगिसकेको छ भने उत्तर तर्फ १ विगाह क्षेत्रफल छ । जहाँ, बृहत परियोजना निर्माण गर्ने योजना छ । सो जमिनमा कृषिथोक बजार निर्माण हुनेछ । कृषिथोक बजार सुविधा सम्पन्न हुनेछ । त्यहाँ बजारसँगै पार्किङ, चिस्यान र ड्रायस मेसिन समेत व्यवस्थापन गरिने सूचना अधिकारी चौधरीले जानकारी दिए । हालसम्म नगरपालिका र मन्त्रालयको समेत लगानीबाट संरचना निर्माण भइरहेको छ भने बाँकी संरचना पनि नगरपालिका समेतको लगानीमा निर्माण गरिनेछ ।

बजार अभावका कारण किसानले कृषि उत्पादनलाई प्राथमिकता नदिएको निष्कर्षसँगै नगरपालिकाले कृषि क्षेत्रमा व्यापक उत्साह सिर्जना गर्नलाई कृषि बजारको परियोजना परिकल्पना गरिएको थियो । उत्पादनका दृष्टिले पर्याप्त संभावना भएर पनि भारतबाट तरकारी समेत आयात गर्नुपर्ने परिस्थितिले गर्दा स्थानीय उत्पादनमा टेवा पुर्याउने उद्देश्यले बजार निर्माणको काम जारी छ । स्थानीय उत्पादनलाई स्थानीय बजारसम्म लैजान व्यवस्थित बजार समेत भएका कारण बन्दै गरेको परियोजनाले किसानलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बजार निर्माण पश्चात नगरपालिकासमेतको आम्दानी हुने गरी बजार सञ्चालन गरिनेछ । त्यसका लागि बजार सञ्चालक समिति समेत बनाइनेछ । कार्यविधि अनुसार सञ्चालन गरिने बजारको नेतृत्वमा नगर र वडा समेतको सहभागिता रहनेछ । बजारको आम्दानी बजारमै लगानी गरिन्छ, चौधरीले भने – बजार निर्माणले दक्षिण क्षेत्रका किसानहरु लाभान्वित हुनेछन् ।

स्थानीय उत्पादन प्रवद्र्धन र आयात न्यूनिकरणमा बजार निर्माणले ठुलो सहयोग हुने बताइन्छ । चौधरीका अनुसार बजार व्यवस्थित भएपछि किसानले कृषि उत्पादनमा मेहनत गर्नेछन् र भारतमा समेत निर्यात गर्ने छन् । कृषि क्षेत्रको विकासमा मल विउ, प्राविधिक तालिम समेत दिइरहेको अवस्था छ । किसानको जीवनमा परिवर्तन ल्याउन सक्ने परियोजनाले कृषि छोड्दै गरेका किसानलाई फेरि कृषिमै आकर्षित गर्नेमा विश्वास छ, चौधरीले थपे ।
कृषि मण्डीको खुद्रा बजार निर्माण ९५ प्रतिशत प्रगति हासिल भइसकेको छ । अबको दुई महिनाभित्र क्यान्टिन र टायल लगाइसकेपछि आगामी वर्षबाट बजार सञ्चालन हुनेछ ।

नगर अस्पताल
नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटिएको नगर अस्पताल अन्तिम चरणमा पुगेको छ । वडा नं. ६ मा रहेको स्वाथ्य चौकीलाई स्तरान्नतिका लागि नयाँ भव्य भवन निर्माण सकिएको छ । अब, विधुत, पानी र कोठाहरुको व्यवस्थापन मात्रै बाँकी छ । डिपिआर अनुसार १७ करोडमा ठेक्का लागेको भवन १० करोड ६७ लाखमा ठेक्का गरेर निर्माण व्यवसायीहरुले काम गरेका छन् । नगर अस्पतालको काम ८५ प्रतिशत पुरा भइसकेको छ । बाँकी काम सकेर यसै आर्थिक वर्षमा निर्माणको काम पुरा गर्नुपर्नेछ । सोहि अनुसारको तयारी पनि व्यापक रुपमा भइरहेको छ ।

विद्यालयले प्रदान गरेको १५ शैयाको नगर अस्पताल डेढ विगाहमा निर्माण गरिएको छ । सुविधा सम्पन्न भवन निर्माण पश्चात ३० जनाको दरबन्दी रहने गरी मन्त्रालयले संगठानात्मक स्वरुप पठाइसकेको छ । ४ जना मेडिकल अधिकृत , नर्स तथा अन्य स्वास्थ्यकर्मीले अस्पतालबाट सेवा दिनेछन् । विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको नगर अस्पतालबाट २४ घण्टा सेवा उपलब्ध गराउने सूचना अधिकारीले जानकारी दिए । उनले नीति कार्यक्रम अनुसार ५, १० र १५ शैयाका अस्पताल निर्माण भइरहको छ ।

गौरादह, गौरीगञ्ज, शिवसताक्षी, झापा गाउँपालिकाका नागरिकहरु पनि अस्पताल सञ्चालन पछि उपचारका लागि आउने छन् । सुविधा सम्पन्न अस्पताल निर्माण नहुँदा धेरै नागरिकहरु ठुलो खर्च गरेर बाहिर नै उपचार गर्न बाध्य भइरहेका छन् ।

नगरका ११ वटै वडामा स्वास्थ्य सेवा प्रदान गरिरहेको उनको भनाई छ । नयाँ अस्पताल सञ्चालनमा आएपछि अन्य क्षेत्रबाट पनि उपचारका लागि विरामीहरु आउनेमा अस्पताल परिवार ढुक्क रहेको छ । नगर अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि बाहिर जानेहरु आफ्नै गाउँमा आउने छन् । ठुलै समस्या बाहेक नागरिकहरु नगर अस्पतालमा उपचारका लागि आउनेमा नगरपालिका, वडा कार्यलयको नेतृत्व विश्वस्त छ । शिक्षा, स्वास्थ्य र भौतिक पूवार्धारसँगै नगरपालिकाले नगर अस्पताललाई विशेष ध्यान दिएको छ । नगरवासीकै आग्रह अनुसार स्थापना गरिएको नगर अस्पतालले पालिकाको दक्षिणी भागलाई समेट्ने छ । आधारभुत देखि ठुला समस्याहरुको समेत समाधान गर्न सक्ने नगर अस्पताल नगरको अर्को गौरवको आयोजना हो । जो निर्माणको अन्तिम चरणमा पुगेको छ । र, सबै नगरवासी सञ्चालनको व्यग्र प्रतिक्षामा बसेका छन् ।

खेल मैदान तर्फ
खेलाडीहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि नगरपालिकाले खेल मैदान निर्माणलाई पनि प्राथमिकता दिएको छ । स्वास्थ्यका लागि खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने भएपछि यतिवेला नगरपालिकाले खेल मैदान निर्माणदेखि प्याराफिट निर्माणसम्मको काम गरिरहेको छ । राम्रो र व्यवस्थित खेल मैदान निर्माणका लागि नगरपालिकाले ४० लाख लगानीमा दुधेको रंगशालामा प्याराफिट निर्माण गरिरहेको सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिएका छन् ।

चारैतिरबाट कम्पाउण्डको काम सम्पन्न गरिसकिएको छ भने अहिले धमाधम प्याराफिट निर्माणको काम चलिरहेको छ । खेल मैदानको सुरक्षा र संरक्षणका लागि ध्यान नपुग्दा गौचरणमा परिणत भएको मैदान अहिले व्यवस्थित हुदै गइरहेको छ । त्यसका लागि नगरपालिकाले योजनावद्ध ढंगले काम गरिरहेको छ ।

६ विगा क्षेत्रफलमा रहेको दुधे खेल मैदानमा यसै आर्थिक वर्ष प्याराफिट र स्टेज निर्माणको काम सम्पन्न गर्ने योजना छ । दर्शकलाई खेल हेर्नका लागि सहजता होस् भन्ने उद्देश्यले निर्माण भइरहेको मैदान बहुवर्षे योजना अनुसार काम अघि बढेको हो । पालिका, प्रदेश र केन्द्र सरकारको समेत सहयोगमा मैदान निर्माणको काम सक्ने तयारी छ ।

दुधे मात्र होइन नगरमा रहेको झिलझिले खेल मैदान, डुडाबारी खेल मैदान, वडा नं. ३ र १० मा पनि खेल मैदान स्तरोन्नति तथा निर्माणको काम अघि बढाइएको छ । वडा नं.५ मा समेत खेलकुद गतिविधि बढेका कारण सो क्षेत्रमा पनि खेल पूर्वाधार निर्माणमा ध्यान पुगेको बताइएको छ । नगरका सबै वडामा खेल क्षेत्रको विकासमा पूर्वाधार निर्माण हुनुपर्ने लक्ष्यसहित काम भइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

यस्तै, पर्यटकीय गन्तव्यको रुपमा रहेको शिवसताक्षी नगरपालिकाले पर्यटन पूर्वाधार क्षेत्रमा लगानी बढाएको छ । पर्यटन क्षेत्रले धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सक्ने र आम्दानीको स्रोत समेत हुने हुँदा नगरपालिकाले प्राथमिकताका साथ पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ ।

नगरमा रहेको दोमुखा, चिल्लागढ, सताक्षीधाम लगायतका पर्यटकीय एवम् धार्मिक गन्तव्यहरुमा लगानी बढाइरहेको छ । पर्यटकीय संरचनामा पूर्वाधार, जाने सडकहरु कालोपत्रे तथा स्तरोन्नति गरिएको छ भने दोमुखा प्रवेशद्वार र ब्लक लगाउने काम भएको बताइएको छ ।

नगरपालिकाले वडा कार्यालयहरु समेत भौतिक संरचनामा सम्पन्न हुनुपर्ने मान्यता अनुसार सबै वडाको कार्यालय निर्माण गरिएको छ । वडा नं. ८ को कार्यालय यसै वर्ष सक्ने तयारी गरिएको छ ।

नगरको रिङ रोडसँगै नगरपालिकाले व्यवस्थित बसपार्क समेत निर्माण गरिरहेको छ । वहुवर्षे योजना अनुसार निर्माण भइरहेको बसपार्क ३ विगा १७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । बसपार्कको टहरा निर्माणसँगै आवश्यक पूर्वाधार निर्माण गर्दै जाने चौधरीको भनाई छ । यो आर्थिक वर्ष बसपार्कका लागि बजेट नभएकाले आगामी वर्षबाट निरन्तरता दिने भनिएको छ ।

यो वर्ष नगरपालिकाले ५ किलोमिटर कालोपत्रे गरेको छ । व्याङडाँडा–झरना पुल, धरमपुर दक्षिण जाने सडक खण्ड कालोपत्रे गरिएको छ । धेरैजसो बजारको सडक कालोपत्रे र ब्लक विच्छ्याउने काम गरिएको छ ।

कृषकलाई व्यवसाय गर्न सक्ने बनाउनका लागि आवश्यक सहयोग गर्दै जाने नगरपालिकाको रणनीति छ । कृषकलाई प्रविधि तथा उपकरण तर्फ सहुलियतमा सहयोग गर्ने नगरपालिकाले आगामी दिनमा किसानमैत्री योजनाहरु ल्याउने जनाएको छ ।

निर्माणाधिन कृषिथोक बजारमा कृषिजन्य वस्तु सुकाउने, चिसो बनाएर राख्न सक्ने उपकरण जडान हुने छ । त्यहाँ किसानलाई सहयोग पुग्ने हिसावले सञ्चालन गर्ने बताइएको छ ।

यस्तै, शिवसताक्षी नगरपालिकाले ४ विगा ६ कठ्ठा जमिन खरिद गरेर ल्याण्डफिल्ड साइड निर्माण गरेको छ । सड्ने र नसड्ने फोहोर व्यवस्थित ढंगले डढाएर व्यवस्थित गरिरहेको गरिन्छ । अर्को वर्षसम्म सञ्चालन हुने उक्त परियोजना सञ्चालनको जिम्मेवारी माग गर्दै विभिन्न कम्पनीहरुले प्रस्ताव समेत पेश गर्दै आएका छन् ।

– शिवसताक्षी सरोफेरोबाट

शेयर गर्नुहोस :

0
Shares