Banner news

हरेक महिलालाई सीप सिकाउने योजना

हरेक महिलालाई सीप सिकाउने योजना


उपप्रमुख, नरमाया कार्की

शिवसताक्षी नगरपालिकामा हरेक महिला दिदी बहिनीहरुलाई स्वरोजगार बनाउन सीप विकासका लागि गत वर्षबाट सीपमुलक तालिमहरु सञ्चालन गरिएको छ । नगर उपप्रमुख नरमाया कार्कीले महिलालाई सक्षम बनाउन सीप र रोजगारसँगै चेतनाको विकास गर्नुपर्ने धारणा राख्नुभएको छ ।

विगतमा सीप नभएकाले महिलाहरु पछि पर्नु भएको थियो, उहाँले भन्नुभयो – आयमुलक व्यवसायका लागि सीप सिकाउन लागिपरेका छौं । मेरो कार्यकालमा दिदीबहिनीहरुलाई स्वरोजगार बनाउदै अघि बढाउनेछु । बेरोजगार महिलाहरुलाई रोजगारमा जोड्ने संकल्प गर्दै उपप्रमुख कार्कीले सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र बीउ पुँजीको लागि सहयोग गर्ने योजना रहेको बताउनुभयो । उहाँले महिलालाई दक्ष बनाउनका लागि दक्ष तथा अनुभवी सहजकर्ताबाट तालिम उपलब्ध गराइरहेको बताउनुभयो । तालिमलाई परिणाममुखी बनाउनका लागि व्यवसायमा जोडिन आवश्यक रहेको भन्दै उपप्रमुख कार्कीले महिलाहरु सीप, रोजगार र साक्षर बन्नुपर्ने धारणा राख्नु भएको छ ।

समूह बनाएर काम गर्ने योजना भए पनि नगरपालिकाले सहयोग गर्नेछ । महिलाहरुलाई घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्दै सामूहिक व्यवसायमा जोडेर जाने नगरको योजना रहेको उनको भनाई छ । स्थानीय सरकार बनेपछि महिलाहरु खुलेर बाहिर आउनुभएको छ । सामाजिक काममा पनि सक्रियता देखाइरहनु भएको छ । उपपप्रमुख कार्की भन्नुहुन्छ – संघीयताले महिलाहरुलाई स्वरोजगार बन्नका लागि प्रेरित गरेको छ । गाउँमा सरकार भएपछि महिलाले त्यसैगरी सहयोग पाइरहेका छन् ।

आगामी वर्षमा केराको थामबाट धागो उत्पादन गर्ने र व्याग बनाउने योजना रहेको छ । केराको थामबाट बनेको व्याग विदेश निर्यात गर्ने उपप्रमुख कार्कीको योजना छ । महिलालाई आयआर्जनमा जोड्का लागि केराको थामबाट व्याग बनाउने योजना बनाएको उनको भनाई छ ।

उहाँले पछिल्लो समय पारिवारिक एकतामा समस्या बढ्दै गइरहेकोमा चिन्ता समेत व्यक्त गर्नुभएको छ । न्यायिक समिति संयोजक कार्कीले मानाचामल सम्बन्धी मुद्धा धेरै नै आइरहेको छ । यसले धेरै नै चिन्तित बनाउने गरेको छ । पारिवारिक एकताका लागि चेतनामा परिवर्तन हुनुपर्ने धारणा छ ।

शेयर गर्नुहोस :

0
Shares