बिर्तामोड । सहाराका कर्मचारीहरुमाथि मोरङको मधुमल्लामा दुव्र्यवहार गर्नेहरुलाई कारबाही गर्न सहकारी म्यानेजर क्लवले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुमाथि अभद्र व्यवहार र अराजकता फैलाउने व्यक्ति तथा समूहलाई राज्यको तर्फबाट पक्राउ गरी कडा भन्दा कडा कारवाही क्लवले जोडदार माग गरेको हो ।
मोरङ जिल्ला मिक्लाजुङ–२ मा कार्यरत कर्मचारीहरु आफ्नो कार्यसम्पादन गर्ने शिलशिलामा ऋणी सदस्यहरुको घरमा कर्जा ताकिता गर्न जाँदा केही अराजक व्यक्तिहरुबाट भएको अभद्र, अपमानजनक र अमानवीय व्यवहारप्रति सहकारी म्यानेजर क्लबले खेद प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, सहकारी संस्थामा केही ऋणी सदस्यहरु आफूले लिएको ऋण नतिर्न अनेक बहानाबाजी गरी ऋण नतिर्ने अभिप्रायले अराजक व्यक्तिहरुसँग मिली सहकारी संस्थाको कर्जा ताकिता गर्न हिडेका कर्मचारीहरु माथि शारीरिक तथा मानसिक यातना दिनुका साथै अभद्र र अमानवीय क्रियाकलाप गर्नुले कानुनी राज्यको नै उपहास भएको हामीले ठहर गरेका छौं ।
आफ्नो जिम्मेवारी बहन गर्दै लगानी गरिएको कर्जा ताकिताका लागि हिडेका कर्मचारीहरुमाथि यस्तो अभद्र व्यवहार र अराजकता फैलाउने व्यक्ति तथा समूहलाई राज्यको तर्फबाट पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्नका लागि जोडदार माग गर्दछौं ।
क्लवले सदस्यहरुलाई भनेको छ, यहाँहरुले सहकारी संस्थाहरुसँग गर्नुभएको कारोबार तपाई आफू सदस्यको हैसियतले गर्नुभएको हो । तपाईलाई कारोबारमा कुनै समस्या भएको भए तपाई आवद्ध संस्थामा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्नुहोस् ताकि समस्याको समाधान मुठभेड होइन । तपाईको सेवामा सहकारी संस्था र सहकारीका कर्मचारीहरु सधैभरी प्रतिवद्ध छन् ।








प्रतिक्रिया