Banner news

बिर्तामोडका घरबेटीलाई नमस्कार !

बिर्तामोडका घरबेटीलाई नमस्कार !


प्रदीप परियार

सबै घरबेटीहरुमा नमस्कार, घर भाडामा दिएर सहयोग गर्नेहरुप्रति सर्वप्रथम धन्यवाद । घर नभएर मात्रै भाडामा बस्ने होइन, घर हुनेहरु पनि भाडामा बसिरहेका छन् । व्यापार व्यवसाय र विभिन्न कामको सिलसिलामा आफ्नो घर छोडेर अन्यत्र भाडामा बस्नुपर्ने बाध्यता छ । भाडाका लागि सहयोगी घरबेटीहरुले सामान्यतयःआफ्नो व्यवसाय र सेवा गरिरहनु भएको छ । घर भाडामा लगाउनुलाई एकातिर आम्दानीको बाटो बनाइएको छ भने अर्कातिर घर नहुनेहरुलाई बस्न दिएर सेवा पुराइरहनु भएको छ । सेवारत घरबेटीहरु पनि यसै समाजका जिम्मेवार नागरिक भएको नाताले अब, एउटा महत्वपूर्ण विषयमा बहस गर्ने बेला भएको छ । जुन, बहस गर्न धेरै ढिलाई भइसकेको छ ।

Photo – AI

इलाका प्रहरी कार्यालय अनारमनीका तत्कालिन डिएसपी मोहन थापाले हरेक घरमा भाडामा बस्नेहरुको विवरण संकलन गर्ने अभियानको घोषणा गर्नुभएको थियो । अभियान राम्रो थियो तर सफल हुन सकेन । बिर्तामोड क्षेत्रमा बढ्दो अपराधिक क्रियाकलाप र लागुऔषधको कारोवारका कारण त्यो अभियान सञ्चालन गर्न तत्कालिन डिएसपी थापाले प्रस्ताव गर्नुभयो । त्यस बेला विवरण राख्न सुरु गरिएको थियो भने संभवतः अहिलेसम्म विवरण संकलन भइसक्ने थियो । कुनै प्रविधि मार्फत घरको विवरण खोज्दा त्यो घरमा को बस्छ, के गर्छ भन्ने सामान्य जानकारी हेर्न मिल्ने व्यवस्था अब मिलाउनुपर्छ ।
बिर्तामोड मात्र होइन, झापा जिल्ला, अन्य जिल्लामा समेत घरबेटीहरुले यसका लागि सहयोग गर्ने बेला आएको छ ।

आफ्नो घरमा भाडामा को बसिरहेको छ ? के गरिरहेको छ ? कुन क्षेत्रमा काम गर्छ ? भाडामा बस्नेको गतिविधि कस्तो ? जीवनशैली के कस्तो छ ? कहिल्यै बुझ्ने प्रयाय गर्नुभएको छैन । घर भाडामा बस्नेको विवरण राख्नु भएको छ ? छैन ।
भाडा माग्ने समयमा मात्र मान्छे खोजी गरिएको छ कि अन्य समय पनि खोजी गरिन्छ । हो, स्वभाविक रुपमा अरु मान्छेको चासो चिन्ता लिन जरुरी छैन । त्यो पाटोबाट ठिकै हो । तर, घरमा कतै लागुऔषध कारोवारी त बसिरहेको छैन ? कतै अपराध गरेर लुकेर बसेको त छैन ? भाडामा बस्नेको कोठामा कस्ता मान्छेहरुको आउजाउ छ ? हेर्नुभएको छ ? छैन ।

त्यसैले म घरबेटीहरुमा विनम्र आग्रह गर्दछु, कम्तिमा आफ्नो घर भाडामा लगाएपछि बस्नेको विवरण राख्ने गरौं । नयाँ मान्छे बस्न आएको छ भने उसको बारेमा सामान्य जानकारी लिने गरौं । कुनै पनि जानकारी नलिई मान्छे राखियो भने त्यसले कुनै दिन समस्यामा पार्न सक्छ । जसरी बिर्तामाडमा एउटा घरको कोठा लागुऔषधको गोदामका लागि प्रयोग गरिएको रहेछ । के लागुऔषध हो भन्ने जानकारी थियो भने घरबेटीले भाडा लगाउथें ? अहिले घरबेटीको नाम कारोवारीको भन्दा धेरै जोडिरहेको छ ।

त्यसैले म फेरि पनि नमस्कार गर्छु, विनम्र अनुरोध गर्छु । कतै तपाईको घरमा कारोवारी बसिरहेका छैनन् । ठिक मान्छे बसेको ठाउँमा चिन्ता भएन । त्यै पनि सबैको विवरण राख्ने गरौं । टोल समितिहरु छन्, टोलभित्र कस्ता मान्छेहरु बसिरहेका छन् ? त्यसको खोजी जरुरी छ । कुनै दुर्घटना हुन नदिनलाई टोल विकास समितिको सहयोग अपरिहार्य छ ।
घर भाडामा बसेर, भाडामा लिएर गलत क्रियाकलाप गर्नेहरुको नियमनका लागि विवरण संकलन अति आवश्यक भइसकेको छ । यसका लागि स्थानीय सरकार, प्रहरी प्रशासन र आम नागरिकको भूमिका नै महत्वपूर्ण हुन्छ । विवरण संकलनले गलत नगर्नेहरुलाई कुनै फरक पर्दैन, तर गलत गर्नेहरुलाई अवश्य फरक पर्नेछ । यसलाई व्यवस्थित गर्न सरोकारवालाले ध्यान दिनैंपर्छ, घरबेटीहरुले सचेत हुनैपर्छ ।

झापामा बढ्दै गइरहेको कारोवारले अब, आफ्नो सन्तान कसरी जोगाउने भन्ने चिन्ता बढ्दै गइरहेको छ । यस्तै भइरहने हो भने हरेक घरमा प्रयोगकर्ता र कारोवारी नहोलान् भन्न सकिन्न । यसको असर, नभोग्नेहरुलाई थाहा छैन । सोच्न नसकिने परिवारका सन्तानहरुलाई धमाधम सुधार गृहमा राख्नुपरेको छ । प्रहरीले मुद्धा चलाइरहेको छ । लागुऔषध कारोवार र प्रयोगले परिवार ठुलो पीडामा परेको कयौं उदाहरण छन् । परिवारहरुले लुकाएकै कारण बाहिर मात्र नआएको हो, आउने हो भने आत्तिने अवस्था छ ।

बिर्तामोडको डरलाग्दो गोदाम
झापामा यसै साता प्रहरीले लागुऔषधको ठुलो गोदाम फेला पार्न सफल भयो । वषौंदेखि लागुऔषधको कारोवारी र प्रयोगकर्तालाई पक्राउ गर्दै आएको प्रहरीले बिर्तामोडमा ठुलै सफलता हात पारेको छ । बिर्तामोडमा प्रहरीले एउटै गोदामबाट ठुलो मात्रामा प्रतिबन्धित औषधि र लागुऔषध बरामत गरेको छ । सामाजिक रुपमा चिनिएका मान्छैकै नाम पनि मुछिएको छ । बिर्तामोड –५ मा प्रहरीले गोदाम फेला पारे पनि सञ्चालक अहिलेसम्म फेला पार्न सकेको छैन । जबसम्म, सञ्चालक फेला पर्दैनन् र कानुनी कारबाही हुदैन तबसम्म त्यसलाई सफल मान्न सकिन्न । त्यसैले कामदार भन्दा पनि त्यसको लगानीकर्ता सञ्चालक नै कानुनी दायरामा ल्याइनुपर्छ ।

विर्तामोड नगरपालिका वडा नं. ५ स्थित मनकुमार संग्रौलाको दुई तले घरको भुइँतलामा दुई वटा कोठा भाडामा लिएर गोदाम राख्ने भानुभक्त खरेलले विर्तामोडमा सनलाइट फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएको बुझिएको छ । जो प्रहरीको खोजीमा छन् । सामाजिक सञ्जालमा अनलाईन, प्रहरीको नजरमा अफलाइन खरेलले पक्कै उन्मुक्ति पाउने छैनन् । सयौं परिवारको सपनालाई अन्धकारमा परिणत गरिदिने जो कोहि किन नहोस्, कारबाही हुनुपर्छ ।

गाउँगाउँसम्म फैलदों सञ्जाल
झापा अहिले लागुऔषधको अघोषित अखडा भन्दा फरक पर्दैन । जसरी हावा देखिदैन, त्यसैगरी लागुऔषधको सञ्जाल पनि आँखाले देख्न सकिन्न । तर, झापामा हावाभन्दा बाक्लो सञ्जाल लागुऔषधको बनिरहेको छ । जिल्लाको गाउँगाउँसम्म लागुऔषधको सञ्जाल फैलदो क्रममा छ । गाउँका धेरै युवाहरु लागुऔषधको सञ्जालमा थाहै नपाई जोडिन थालेका छन् । धेरै परिवार लागुऔषधको पीडाबाट प्रभावित छन् । यसबाट जोगिनका लागि अभिभावकहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । छोराले राम्रै आम्दानी गरिरहेको छ भनेर मख्ख पर्नु राम्रै हो । तर, के कामबाट भन्ने खोज्न चैं ढिलो नगरौं ।
झापामा आर्थिक वर्ष २०८१-८२ मा जिल्लामा ५५९ जनालाई लागू औषधको कारोवार गरेको अभियोगमा पक्राउ गरिएको छ । ३४६ वटा मुद्धा नै दर्ता भयो । वर्षेनी यस्तो संख्या बढ्दै गइरहेको छ । प्रहरीले गत आव २०८०÷८१ मा ४६२ जना कारोवारी पक्राउ गर्न सफल भयो । अघिल्लो वर्षको तुलनामा पछिल्लो आवमा यो संख्या १६.५ प्रतिशतले बढेको छ । अर्थात झापामा वर्षेनी लागुऔषध कारोवार र प्रयोग बढिरहेको छ । यो तथ्याङकले झापालाई लागुऔषधको रेडजोनमा राख्न सकिन्छ ।

प्रहरीकै भरमा मात्र पनि नियन्त्रण संभव छैन । तर, हाम्रो समाजले लागुऔषध नियन्त्रणको जिम्मेवारी प्रहरीको काँधमा छोडेको छ । यसरी नियन्त्रण संभव नै छैन । सबै जिम्मेवार निकायको भूमिका महत्वपूर्ण छ । कारोवारको तुलनामा हेर्ने हो भने २५ प्रतिशत प्रहरी लागुऔषध नियन्त्रणमा परिचालन गर्ने समय आएको छ ।

यो वर्ष प्रहरीले झापामा सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा चेकजाँच गर्दा पक्राउ परेका १४० जना प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पुर्यायो । यसरी पनि दीर्घकालिन नियन्त्रण हुन सक्दैन । घरघरबाट नियन्त्रणको अभियानमा जोडिएपछि मात्रै प्रभावकारी नियमन संभव छ ।

झापामा चालु आव २०८१-८२ मा दुई केजी ८८२ ग्राम ब्राउन सुगर बरामद भयो । कोशी प्रदेशमा सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा पनि झापालाई नै चिनिएको छ । मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागू औषधको कारोवार अत्याधिक हुने गरेको छ । खुला सीमाका कारण झापामा सहजै कारोवारीहरु आउने जाने गरिरहेका छन् ।

नेपालका विभिन्न जिल्लाहरुमा निर्यात केन्द्र पनि झापा नै भइरहेको छ । यसैले थाहै नदिई गाडिएको लागुऔषधको जरो बेलैमा काट्नका लागि तयार बनौं, प्रतिबद्ध बनौं ।

शेयर गर्नुहोस :

9.5k
Shares