धर्म/संस्कृति

उत्साह र स्वतन्त्रताको पर्व तीज

उत्साह र स्वतन्त्रताको पर्व तीज


सिर्जना परियार
हाम्रो महान चाड तीज नजिकिँदैछ । तीज मनाउन हामी तयार भइरहेका छौं । महिलाहरुको विशेष पर्वका रुपमा रहेको तीज धार्मिक आस्थासँग मात्र होइन सामाजिक भावनासँग पनि जोडिएको छ । यो महान पर्व तीजलाई श्रद्धा र उल्लासका साथ मनाइन्छ । तीजले पार्वती र शिवलाई स्मरण गराउँछ । तीज धार्मिक चाडमात्र नभई यसले नारीको स्वतन्त्रता र अभिव्यक्तिलाई पनि झल्काउँने गर्छ । दिदीबहिनीहरू भेला भई दर खाएर गीत गाएर नाचेर आफ्नो मनको पीडा, खुसी र आशा साटासाट गर्ने गरिन्छ । तीजमा चेलीबेटीहरूलाई माइतीले बोलाएर स्वागत सत्कार गरेर मनाइन्छ । विवाहितहरूले आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै र अविवाहितहरुले असल बरको आशामा व्रत बस्ने परम्परा छ ।

बाल्यकालको तीज
म १२ वर्षको थिए । जतिबेला तीज के हो ? किन मनाइन्छ ? राम्रो थाहा थिएन । मलाई सारी लगाउने अनि मन्दिर गएर छमछम नाच्ने त्यति मात्र थाहा थियो । त्यसरी नै तीज सुरु हुन्थ्यो । तीजमा सबैजना भेला हुनुहुन्थ्यो । राति मिठोमिठो परिकार बनाएर खाएर भोलिपल्ट व्रत बस्ने गरेको मलाई सम्झना छ । म पनि ममीहरू सँगसँगै सारमा सार मिलाउँथे ।

 

उहाँहरुले जे गर्नुहुन्थ्यो त्यही नै गर्थे । असाध्यै रमाइलो लाग्थ्यो । बिस्तारै चाडपर्वको महत्व बुझ्दै जाँदा दशैं तिहार छठ आमाबुवाको मुख हेर्ने दिन र तीज हाम्रा महान पर्व रहेको रहेछ । तीज पर्वले विशेष गरी हिन्दू धर्मावलम्बी महिलाहरूमा धेरै महत्व राख्ने रहेछ । रातो साडी टिकी पोते र चुराले सजिएर रमाइलो गरेर तीज मनाइन्छ । म नि त्यसरी नै तीज मनाउदै आइरहेकी छु । जसरी घरमा सबैजना भेला भएर रमाइलो गर्नुहुन्थ्यो, त्यसरी नै यो चाड तीजलाई मनाउन म पनि माइती जाने भएकी छु । अहिले तीजमा श्रीमानको आयु र स्वस्थ्य जीवनको कामना गर्दै व्रत बस्ने गरेकी छु ।

अहिलेको तीज
अहिले तीज अलिक फरक भएको महसुस गरेको छु । केही समय यता तीज आउनुभन्दा पहिले नै दिदीबहिनीहरू घरघरमा भेला हुने र विभिन्न रङ्गहरूको पहिरनमा सजिएर दर खाने रमाइलो गर्ने गरिएको छ । विभिन्न संघसंस्थाहरुले पनि सामूहिक रुपमा तीजलाई मनाउने प्रचलन सुरु भएको छ । यसले सामाजिक एकता र सद्भाव पनि झल्काउने गरेको छ । तीजको गीतले पनि निकै आधुनिकताको साथमा नारीको आत्मा र मनलाई प्रस्तुत गर्न थालेको छ । तर, महिलाहरुले होटलमा तीज मनाउँदा विरोध भएको पनि सुनिन्छ । तीज पनि एउटा हाम्रो लागि उत्सव हो । जसरी पुरुषहरु आफ्नो उत्सव होटल मै मनाउने गर्छन् । पुरुषको उत्सवलाई विरोध हुदैन । किनभने, हाम्रो समाज पुरुषप्रधान छ ।

तीज हाम्रो महान चाड परम्पराबाट मनाउँदै आएको अत्यन्तै महत्पूर्ण पर्व हो । यसको संरक्षण गर्दै अरुबेला जस्तो भएपनि तीजमा महिला दिदीबहिनीहरूले छुट्टै उत्साह र स्वतन्त्रता महसुस गरेको हुन्छ । सभ्य र भव्य रूपमा तीजलाई हर्ष उल्लासको साथमा भेटघाट गरी नाच्दै रमाइलो गर्दै मनाउनुपर्छ ।

तीज पर्वमा देखासिखी गर्न हुदैन । घर परिवारको अवस्थालाई मध्यनजर गरेर चाडवाड मनाउनुपर्छ । आधुनिकताको नाममा असभ्य ढंगले तीज नमनाऊ । विभिन्न गीत संगीतका नाममा र तीजमा नृत्य देखाउने नाममा असभ्यता प्रकट नगरौं । यस तर्फ पनि हामी महिलाहरुले ध्यान दिनुपर्छ । सबैले चाडवाडको मर्यादालाई ख्याल गरेर तीजलाई सभ्य र भव्य बनाऔं । तीजको धेरै धेरै शुभकामना ।

शेयर गर्नुहोस :

2.9k
Shares