Banner news

नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश

नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश


काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर–६ मा पुगेको हो ।

जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।

बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।

उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रनको योगदान दिए । एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्य क्रमका ब्याटर चल्न नसक्दा स्कोर १३१ मै रोकिन पुग्यो ।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिएका थिए।

जापानलाई हराएसंगै नेपालले २ अंक लिएर सुपर–६ मा गएको छ । अब नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

शेयर गर्नुहोस :

108
Shares