दमक

दमकका आगलागी पिडित खड्का परिवारलाई डेढ लाख सहयोग

दमकका आगलागी पिडित खड्का परिवारलाई डेढ लाख सहयोग


दमक । झापाको दमक ८ का आगलागी पीडित रविन खड्काको परिवारलाई सरस्वती टोल विकास संस्था लगायतका संघ संस्था र व्यक्तिबाट १ लाख ४९ हजार ३ सय २५ रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ ।

दमक ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश) को रोहबरमा सोही वडाको सरस्वती टोल विकास संस्थाको पहलमा सो राहत रकम खड्का परिवारलाई आज प्रदान गरिएको हो । सरस्वती टोल विकास संस्थाका अध्यक्ष चन्द्र खत्रीले वडाबासीको सहभागीतामा सो राहत रकम अग्नी पीडित खड्कालाई प्रदान गर्नुभयो । गत कार्तिक ९ गते अपरान्ह ४ बजेतिर रविन खड्काको घरमा लागेको आगोले घर जलेर नष्ट भएको थियो ।

दमक ८ कै सरस्वती टोल विकास संस्था (टोलवासी) बाट १ लाख ४९ हजार ३ सय २५ रुपैयाँ, सोही टोलको सरस्वती महिला बचत समुहले ३२ हजार रुपैयाँ, दमक उधोग वाणिज्य संघबाट सिरक डसना लगायतको सामग्री र विभिन्न ब्यक्तिहरुले १७ हजार रुपैयाँ सहयोग गरेको सरस्वती टोल विकासका सचिव राजन लुइटेलले जानकारी दिनुभयो । हाल अमेरिकामा रहनु भएका योजना भट्टराई उप्रेती, भगत उप्रेतीले १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

सिग्देल डिपार्टमेन्ट स्टोर दमकबाट ५ हजार बराबरको खाद्यान्न लगायतका सामग्री दिएको छ । यसैगरी रमेश भटराई २ हजार, भुपेन्द्र कोइरालाबाट २ हजार, नेत्र खडका २ हजार र ड्राबिन संग्रौलाबाट १ हजार दिइएको सरस्वती टोलका सचिव लुइटेलले बताउनु भयो । राहत सामाग्री वितरण कार्यक्रममा सहभागी दमक ८ का वडा अध्यक्ष दाहाल र उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले रबिन खड्काको परिवारलाई पुर्नस्थापित गर्न सबै क्षेत्रबाट सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

शेयर गर्नुहोस :

945
Shares