काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्न नसकिने बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले माओवादीसँग एकता गर्न हौसिएका अध्यक्ष माधव नेपालमाथि आक्रोश पोखेका हुन् । खनालले एमाले फुटाएपछि पार्टी बनाउन नसकेको टिप्पणी गर्दै माओवादीमा जान नमिल्ने बताए ।
‘एमाले फुटाएपछि यो पार्टी बनाउन नसक्ने, बैठक गर्न पनि हजार दुई हजार उठाएर दरिद्रता देखाउने, जनताको बीचमा नजाने अनि, प्रचण्डको काखमा जाने ? जिम्मा लिनुहुन्छ हिजोको जनयुद्धको ? केके जिम्मा लिएर माओवादीसँग एकता गर्नुहुन्छ ? भोलि केका लागि जाने ?’ खनालले भने ।
उनले अहिले एकताभन्दा पनि पार्टीलाई बलियो र क्रान्तिकारी बनाउन केन्द्रित हुनुपर्ने बताए । खनाले भने, ‘हामी सही ढङ्गले अघि बढ्यौँ भने सानो पार्टी ठूलो हुनसक्छ । यो एकताको बेला होइन । पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने बेला हो ।’
कसैले पार्टीमा सही नीति लिएर आए ४० वर्ष मुनिका युवालाई नेतृत्व स्वीकार्न तयार रहेको खनालले बताए । उनले थपे, ‘हिजो माधव नेपाललाई पनि मैले स्वीकारेको हो, विशेष परिस्थितिमा । अहिले पार्टी चलाउन सकिन भनेर लुरुलुरु माओवादीमा जाने कुरामा मेरो सहमति छैन ।’ उनले भ्रष्टाचारको मुद्दा लागिसकेपछि सांसद पद निलम्बन हुँदा समेत पार्टी नेतृत्व नछाडेको विषयमा समेत प्रश्न उठाएका छन् ।







प्रतिक्रिया