बिर्तामोड । झापा प्रहरीका प्रवक्ता खगेन्द्र बहादुर खड्कालाई उछिनेर तल्लो तहबाट सूचना बाहिरिएपछि झापा जिल्ला प्रहरी कार्यालयमा हलचल मच्चिएको छ ।
बिर्तामोड प्रहरीले आज राती १२ः४५ बजे तास खेलिरहेका ९ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । म्याद थप भएपछि आधिकारिक सूचना सार्वजनिक गर्ने तयारी गरेका प्रवक्ता खड्काले सार्वजनिक गर्नुअघि नै नामावली बाहिर आएपछि जिल्ल परेका छन् । ‘हाइप्रोफाइल’ का व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
अनुसन्धानका लागि नियन्त्रणमा लिइएका नौ जनाको नाम म्याद थप भएपछि नै सार्वजनिक गर्न उचित हुने बताएका प्रवक्ताले सूचना चुवाहटबारे खोजी गरिरहेका छन् । प्रवक्तालाई बाइपास गरेर सूचना बाहिर आएको भन्दै उनले सूचनाको चुवाहट गर्नेहरुको निगरानी बढाएका छन् ।
सूचनामा एकरुपता ल्याउन प्रहरीले प्रवक्ता व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आधिकारिक सूचना दिने व्यक्ति बाहेकबाट सूचना गएपछि प्रवक्ता तनावमा परेका छन् । अनाधिकृत रुपमा सूचना दिने प्रहरी कर्मचारीको खोजी गरेर कारबाही गरिने प्रवक्ता खड्काको भनाई छ ।
उनले जिल्लाको सूचनाहरु पटक–पटक प्रवक्ता बाहेकबाट लिक भएको विषयमा आफू जानकार रहेको बताएका छन् । आधिकारिक ठाउँ बाहेकबाट सूचना बाहिर जाँदा अनुसन्धानमा असर गर्छ, प्रवक्ता खड्काले भने – यो विषयलाई मैले सामान्य लिएको छैन । तत्काल कारबाहीको विषय बन्नेछ ।







प्रतिक्रिया