Banner news

शिखर सहकारीका सचिव आफै ठुलो ऋणी, आफै खोज्दैछन् न्याय

शिखर सहकारीका सचिव आफै ठुलो ऋणी, आफै खोज्दैछन् न्याय


प्रदीप परियार

बिर्तामोड । झापाको बिर्तामोड – ४ मा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लि. तीन वर्षदेखि समस्यामा छ । बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि तीन वर्षदेखि संस्थाको नियमित कारोबार बन्द जस्तै छ । बन्द रहे पनि सहकारीका बचतकर्ता आफ्नो बचत रकम फिर्ताको अपेक्षामा बसेका छन् ।

सञ्चालकहरुबाट पटक–पटकको भाखा पाएका बचतकर्ताहरु केही समयदेखि चुपचाप बसेका थिए । भाखा पाउने तर बचत फिर्ता नपाउने बचतकर्ताहरुले बिहीवार ठुलो आशा बोकेर बिर्तामोडको सिटी सेन्टरमा भेला भए । छोटो समयको सूचना पाएर सिटी सेन्टर पुगेका केही बचतकर्ताहरु आफ्नो बचत फिर्ता हुनेमा ढुक्क हुँदै पुगेका थिए । संस्थाका सचिव समेत रहेका ठुला ऋणी हिमाल प्रसाईले रोखेको छलफलमा बचतकर्तासँगै अन्य सञ्चालकहरुलाई निम्तो गरिएको थियो ।

३-४ जना सञ्चालक र करिव ३० जना बचतकर्ता भेला भए । ४ बजेका लागि बोलाइएका बचतकर्ता ५ बजेसम्म छलफल सुरु नभएपछि आक्रोसित हुँदै बाहिर निस्किए । उनीहरुले आफूहरुलाई केटाकेटी सम्झिएको भन्दै छिटो छलफल सुरु गर्न भने । आक्रोसित बचतकर्ताका सामु संस्थाका सचिव एवम् ठुला ऋणी प्रसाईले छलफल सुरु गरे । शिखर बचत तथा ऋण सहकारी संस्था लि. को व्यानरमा छलफल तथा अन्तरक्रिया राखिएको हलमा प्रसाईले आफ्ना कुरा राख्न थाले ।

उनले अनौपचारिक छलफल भएको जानकारी दिदैं बचतकर्ताको धैर्यतामा सद्भाव प्रकट गरे । बचतकर्ता र आफ्नो पीडा आआफ्नो ठाउँमा रहेको भन्दै मिठा कुरा गरेर झुक्याउन नआएको स्पष्ट पारे । बचतकर्ताहरुले जे गर्नु हुन्छ, स्वीकार्य छ, उनले भने – म संस्थाको सबैभन्दा ठुलो ऋणी हुँ । यति भनेपछि एक जना बचतकर्ताले जंगिदै भने, ऋणी हो भने तिर्नु नि ।
प्रसाईले आफू पीडामा रहेको र यस समस्याबाट आफूले पनि निकास खोज्नैपर्ने बचतकर्तालाई जानकारी गराए । लामो समयदेखि सहकारीको विषयले आफू तनावमा रहेको भन्दै निकासका लागि बचतकर्ताहरुको साथ खोजे । सहकारीबाट विधिपूर्वक कर्जा लिएको जानकारी गराउँदै उनले त्यसको समाधन निकाल्न अवरोध भइरहेको स्पष्ट पारे । आफ्नो १० करोडको सम्पत्ति रहेको र ऋण दिर्न नसकेपछि संस्थालाई १ वर्ष अघि नै लिलाम गर्न भन्दा संस्थाले नगरेको जानकारी गराए । उनले संस्थाले लिलाम नगरेपछि आफ्नो दोष नहुने बताए ।

मैले ऋण तिर्न सकिन, लिलाम गरिदिनु भन्दा मेरो के दोष भन्दै प्रश्न गरेका प्रसाईले संस्थामा आफू मात्र दोषी नभएको जनाए । संस्थाका अन्य ऋणीलाई समेत अब निकास दिनुपर्ने भन्दै आफूले बारम्बार आग्रह गरेको सुनाए । अब, अगाडि बढ्न सकिदैन भन्दै सम्पत्ति विक्री नगरे बचत जोखिममा पर्ने स्पष्ट बनाए । सञ्चालकहरुबाट समाधान नदेखेका प्रसाईले बचतकर्ताहरुलाई अघि बढ्न आग्रह गरेका छन् । उनले बचतकर्ताहरुले समाधान खोज्न सहयोग गर्नुपर्ने बताए ।
बचतकर्ताहरुलाई उनले भने – तपाई हामी अब निकास खोज्न वैधानिक बाटोबाट सम्बन्धित निकाय जाऔं । बचतकर्ताहरुको अग्रसरताबाट शिखरको समस्या समाधान गर्नुपर्ने उनको सूझाव थियो । शिखरको सबै सम्पत्ति बचतकर्ताको हो, बचत फिर्ताका लागि सम्पत्ति काफी छ, उनले थपे ।

बचतकर्ताहरुलाई आफू ऋणी भएको र संस्थाले धितो लिलाम नगरेको भन्दै पीडा पोखेर ‘कन्भिन्स’ गर्न खोजे । त्यसपछि प्रसाईले उल्टै कयौं प्रश्नको सामना गर्नुपरेको थियो । बचतकर्ताको सिधा कुरा थियो, बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ । धितो लिलाम भएन भने अरु सम्पत्ति बेचत भए पनि बचतकर्ताले आफ्नो बचत पाउनुपर्छ । अरु कुरा हामी जान्दैनौं ।
सञ्चालकहरुले नियम विपरित ऋण खाएर संस्था डुबाएको आरोप बचतकर्ताहरुको थियो । सस्तो जग्गामा कयौं गुणा धेरै ऋण लिएका कारण संस्था ओरालो लागेको बचतकर्ताहरुले आरोप छ । छलफलमा सहभागी बचतकर्ताहरुले गफ सुनाउन किन बोलाएको भन्दै पैसा फिर्ता गर्नुपर्छ भनेर कड्किए । वर्षौदेखि एक पैसा फिर्ता नपाएको भन्दै उनीहरुले ऋणीको विवरण सार्वजनिक गर्न माग गरेका छन् । को सञ्चालकले कति पैसा ऋण लिएको छ ?, उनीहरुको विवरण बचतकर्ताहरुले मागेका छन् ।

सञ्चालकहरुबाट पनि पीडित भएर सचिव नै निकास खोज्न बचतकर्तासँग आएपछि पनि धर पाएनन् । बरु, ‘किड्नी’ बेचेर भए पनि बचत फिर्ता हुनुपर्ने माग अघि सारियो । अधिकांश बचतकर्ताहरुले सञ्चालकहरुले नै ऋण लिएर शिखरका बचतकर्ताहरुलाई रुवाएको धारणा राखे । अब, गनथन मनथन नगरी बचतकर्ताको बचत फिर्ता गर्न आग्रह गरे भन्दै उनीहरुको एउटै स्वर थियो – बचत फिर्ता नगरे घरघर जान्छौं ।

छलफलमा बचतकर्ताको यति प्रश्न आयो कि समाधानको बाटो नै भेटिएन । केहीले संस्थाको वित्तीय विवरण सार्वजनिक गरेर कानुनी बाटोबाट अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

ऋण असुली समितिका उमेश राउतले ३ वर्षमा ५७ करोडको बचत दायित्व २२ करोडमा झारेको जानकारी गराए । नगद वा जमिन दिएर त्यो कारोबार मिलाएका छौं, राउतले भने ३-४ जना ऋणीले ऋण चुक्ता गर्ने हो भने बचत फिर्ता गरेर पनि संस्थालाई पुरानै लयमा फर्काउन सकिन्छ ।

हिमाल प्रसाईको इलामस्थित १३ रोपनी जग्गा राखेर ऋण लिएको बुझिएको छ । सो जमिनमा साझेदारी रहेको र नेफ्स्कुनमा समेत धितो राखेर संस्थाले ऋण लिएको बुझिएको छ । उनले संस्थालाई करिव ६ करोड रुपैयाँ तिर्नुपर्ने हिसाव छ ।

बिहीबारको छलफलले केही समयदेखि सुनसान शिखरको समस्या फेरि बाहिर आएको छ । सञ्चाकल नै समस्या बाहिर ल्याएर समाधान खोज्ने तहमा पुगेपछि कतिपय सञ्चालकले अप्ठ्यारो बनाएको हुन सक्ने अनुमान गरिएको छ । बचतकर्ताले ठुला र सञ्चालक रहेका ऋणीको तत्काल विवरण सार्वजनिक हुनुपर्ने बताएका छन् ।

शेयर गर्नुहोस :

7.9k
Shares