Banner news

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य


काठमाडौं, १५ कात्तिक । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।

शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९।१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन जोडेको हो

नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नम्बरमा आएका करण केसीले ३१ बलमै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । यस क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।

जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै, दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

शेयर गर्नुहोस :

27
Shares