खेल

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा प्रवेश

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा प्रवेश


बिर्तामोड । झापाको शिवसताक्षीमा सुरु एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ ।

सोमवार भएको खेलमा अर्को एक डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे । रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन् ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउबा भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए ।

मंगलवारको दोस्रो क्वार्टर फाइनल खेल एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ ।

शेयर गर्नुहोस :

135
Shares