बिर्तामोड । झापाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाका पत्रकारसँग शान्ति सुरक्षा र आसन्न निर्वाचनका सन्दर्भमा अन्तरक्रिया गरेका छन् । पत्रकारसँग परिचयात्मक कार्यक्रम समेत राख्दै प्रजिअ गेलालले शान्ति सुरक्षामा प्रशासन गम्भीर भएको बताए ।
जिल्ला प्रशासन कार्यालय झापाको कार्यालयमा सोमवार आयोजित अन्तरक्रियामा प्रजिअ गेलालले आसन्न निर्वाचनका लागि शान्ति सुरक्षा अनिवार्य भएकाले त्यसतर्फ मिडियाको भूमिका समेत प्रभावकारी हुनुपर्ने धारणा राखे । उनले समाजका आम नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत गराउनु राज्यको दायित्व भएको बताएका छन् ।

पत्रकारसँग प्रजिअ गेलालले सरकारी कार्यालयहरुमा नागरिकले पाइरहेको दुःख सास्तीबारे खवरदारी गरिदिन आग्रह गरेका छन् । यस क्षेत्रको कमजोेरी सच्याउने गरी खवरदारी गरिदिनुहोस्, उनले भने – मिडिया क्षेत्रको सुझावको आधारमा सच्याउँदै जानेछौं । वेथिती रोक्न सहयोग गर्नुहोस् ।
झापामा सुरक्षाको वातावरण सुधार हुँदै गएको बताउँदै प्रजिअ गेलालले सुरक्षा इकाईहरुलाई प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले खुला सीमाका कारण हुने जोखिमबारे प्रशासन सचेत रहेको स्पष्ट पारेका हुन् । प्रजिअ गेलालले झापामा बढ्दो लागुऔषध कारोवार तथा प्रयोग न्यूनिकरणका लागि सचेतनासँगै कानुनी कारबाही र पुर्नस्थापनाका कार्यहरु सञ्चालन गरिने जानकारी दिए ।
प्रजिअ गेलाललाई नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेसहित सहभागी पत्रकारले जिल्लाको अवस्थाबारेमा अवगत गराएका थिए । पत्रकारले देखाएका समस्या र सूझावबारे सुरक्षा निकाय, सरोकारवालासँग सहकार्य गरेर समाधान गर्दै जाने प्रजिअको भनाई थियो । सो कार्यक्रममा सहायक प्रजिअ तेजप्रकाश प्रसाई र डोरेन्द्र निरौलाको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया