कृषि

झापामा बेमौसमी वर्षाले धानबालीमा ७८ करोड रुपैयाँको क्षति

झापामा बेमौसमी वर्षाले धानबालीमा ७८ करोड रुपैयाँको क्षति


बिर्तामोड । कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा लगाइएका धानबालीमा ठूलो क्षति पु¥याएको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा ४ हजार ३६४ हेक्टर क्षेत्रफलमा रहेका धानबाली बेमौसमी वर्षाले प्रभावित भएका छन् ।

निर्देशनालयका तथ्याङ्कअनुसार झापामा करिब २१ हजार ८२० मेट्रिक टन धान नोक्सान भएको छ । जसको मूल्य अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबर छ ।

कोशी प्रदेशका अन्य जिल्लाहरूमा पनि ठूलो असर परेको छ । मोरङमा ३ हजार ४२१ हेक्टरमा ५८ करोड रुपैयाँभन्दा बढीको, र सुनसरीमा २ हजार ८५१ हेक्टरमा ४५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको निर्देशनालयले जनाएको छ ।
प्रदेशभरि गरी २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको धान र तरकारी बाली नष्ट भएको अनुमान गरिएको छ । तरकारी मात्रको क्षति करिब ४ करोड रुपैयाँ बराबर छ ।

सुनसरी, मोरङ र झापा सबैभन्दा बढी प्रभावित जिल्ला मानिएका छन् भने इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङलगायतका पहाडी जिल्लाहरूमा पनि थोरै–थोरै क्षति पुगेको छ ।

निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङका अनुसार, “यी बालीहरू अधिकांशमा बीमा नभएकाले किसानहरू प्रत्यक्ष आर्थिक संकटमा परेका छन् ।” किसानहरूले भने सरकारसँग राहत र क्षतिपूर्तिको तत्काल माग गरेका छन् ।

शेयर गर्नुहोस :

27
Shares