बिर्तामोड । चासोक तङनामको अवसरमा अर्जुनधारामा सामुदायिक वन समूहबीच भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
झापाको अर्जुनधारा–१ स्थित मदनपुर सांस्कृतिक खेलमैदानमा मंसिर १४ गतेदेखि सुरु हुने यो प्रतियोगिता चासोक तङनाम व्यवस्थापन समिति अर्जुनधाराको आयोजनामा हुनेछ । प्रतियोगिताबारे बुधबार मदनपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो ।
आयोजक समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक विजय सेन्दाङका अनुसार प्रतियोगितामा झापाका ६ र इलामका २ गरी ८ सामुदायिक वन समूहका टिमहरूको सहभागिता रहनेछ । सहभागीमध्ये शान्ति, नमुना, दहिझोडा, हचुमासा, हलुवागढ र जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका टिमहरू अर्जुनधाराबाट छन् भने इलामका दाहालटार र सुखानी सामुदायिक वन समूहका टिमहरू पनि प्रतिस्पर्धामा उत्रने छन् ।
आयोजकले टाईसिट समेत सार्वजनिक गरेको छ, जसअनुसार उद्घाटन खेलमा शान्ति सामुदायिक वनले नमुना सामुदायिक वनसँग प्रतिस्पर्धा गर्नेछ भने सोही दिनको दोस्रो खेल हचुमासा सामुदायिक वन र हलुवागढ सामुदायिक वनबीच खेल हुनेछ ।
खेल नियमअनुसार प्रत्येक टिममा २०४६ सालका ३ जना र २०४२ सालका ८ जना खेलाडी अनिवार्य रूपमा समावेश गर्ने व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३५ हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेताले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १७ गते तय गरिएको छ ।
आयोजक समितिका अध्यक्ष राजेश जवेगुले सामुदायिक वन समूहबीचको आपसी सहकार्य, एकता र भाइचारालाई बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उहाँका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मंसिर १७ र १८ गते विशेष कार्यक्रममार्फत उधौली पर्व मनाइनेछ। १७ गते बिहान स्थानीय टाङटिङ नदीमा परम्परागत विधिअनुसार उधौली पूजा गरिनेछ भने १८ गते छेलो हान्नेजस्ता मौलिक खेल तथा अन्य सांस्कृतिक कार्यक्रम हुनेछन् ।
उधौली पर्व र खेल कार्यक्रम सञ्चालनका लागिअनुमानीत करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको आय–व्यय समेत सार्वजनिक गरिएको छ । अर्जुनधारा–२ की वडा सदस्य तथा आयोजक समिति प्रतिनिधि शर्मिला सुब्बाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । अर्जुनधारा–१ का वडाअध्यक्ष उपेन्द्र बस्नेतले प्रमुख आतिथ्य गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य मदन लिमेल, कैदले खानेपानी समिति अध्यक्ष ढुंडीराज गौतम, एन्फा रेफ्री प्रकाश काफ्ले, आयोजक समितिका महेन्द्र आङदाङ्वे, राजा साँवा, लक्ष्मी कन्दङवा, सन्तोष खेवाङ लगायतको उपस्थिति थियो ।







प्रतिक्रिया