बिर्तामोड । झापाको बिर्तामोडमा वन्यजन्तु संरक्षणबारे सरोकारवालाबीच छलफल भएको छ । वन र वन्यजन्तु दुवैको संरक्षणमा चासो दिनुपर्ने छलफलमा सहभागीहरुको भनाई थियो ।
वातावरण कानुन समाजले आयोजना गरेको कार्यक्रममा झापा जिल्लाका सामुदायिक वनसँग सम्बन्धित प्रतिनिधि, उपभोक्ता, वातावरण कानुन समाजका प्रतिनिधि र सरोकारवालाबीच वन्यजन्तुको संरक्षण र कानुनी व्यवस्थाका बारेमा छलफल भएको हो ।
वन्यजन्तुको संगठित गैर कानुनी ओसारपसार सम्बन्धी कानुनी सचेतना तथा जनस्तरीय क्षमता अभिवृद्धिका लागि आयोजित अन्तरक्रियामा वनजंगलको संरक्षणमा भइरहेका प्रयास, वन्यजन्तु–मानव समुदायबीचको द्वन्द्धका बारेमा छलफल केन्द्रीत भएको थियो । अधिकांशले वनको संरक्षणमा चासो दिएपनि वन्यजन्तुको संरक्षणमा समुदायले पर्याप्त चासो दिन नसकेको भनाई राखेका थिए । वनजंगलको संरक्षणमा चासो दिदा दिंदै वन्यजन्तुमाथि वेवास्था भइरहेको अधिकांशको भनाई थियो । वन्यजन्तुका कारण मानव समुदाय जोखिममा परेको सहभागीहरुले धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला अदालतका न्यायाधीश महेन्द्र प्रसाद पोखरेलले झापामा जंगली हात्तीको त्रास रहेको भनाई राखेका थिए । उनले जीवजन्तुको संरक्षणसँगै मानवीय सुरक्षामा ध्यान दिई समाधान खोज्न आग्रह गरे ।

वन्यजन्तुको संरक्षणमा सबैको भूमिका हुनुपर्ने बताउँदै उनले दुर्लभ वन्यजन्तुको संरक्षण आरक्षणमा लगेर गर्नुपर्ने बताएका छन् । वन्यजन्तुको संरक्षणका लागि कानुनी व्यवस्था रहेको भन्दै उनले भने – हामी कानुनको कार्यान्वयनमा प्रतिवद्ध छौं ।
वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले वन्यजन्तुको वासस्थान सुरक्षित गर्नुपर्ने धारणा राखेका छन् । उनले वन्यजन्तुको सुरक्षासँगै जीउधनको सुरक्षा अनिवार्य रहेको बताए । वन्यजन्तुलाई आहाराको व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने बताउँदै उनले सिमसारमा पानीको संरक्षण उत्तिकै अपरिहार्य भएको बताएका छन् । सिमसार क्षेत्र संरक्षण गर्ने हो भने पनि वन्यजन्तुलाई धेरै राहत हुन्छ, आचार्यले भने – अब आहारा व्यवस्थाका लागि राज्यले लगानी गर्नुपर्छ । यस्तै, चोरी तस्करी नियन्त्रणका लागि कानुनको कार्यान्वयनसँगै नागरिकलाई सचेत गराउनुपर्ने उनको धारणा छ ।
झापा बारका अध्यक्ष बसन्त नेपालले हात्ती बाहेक अन्य वन्यजन्तुको पनि संरक्षण उत्तिकै अनिवार्य भएको बताए । झापामा हात्तीको मात्र धेरै चर्चा हुने गरेको भन्दै उनले सबै वन्यजन्तुको संरक्षण आवश्यक भएको बताएका हुन् । उनले वनजंगलसँगै वन्यजन्तु र मानव समुदायको रक्षा हुनुपर्ने धारणा राखेका थिए ।
बिर्तामोडमा भएको अन्तरक्रियामा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रसाद भण्डारीले जिल्लामा हात्ती भित्राउने र धपाउनेबीच प्रतिष्पर्धा भइरहेको बताए । कतिपयले हात्ती भित्राउने लाइसेन्स पाएजस्तो गर्नु भएको छ, उनले थपे – कतिपयले धपाउने कामलाई मुख्य ठान्नुभएको छ ।
झापामा हात्ती–मानव द्वन्द्ध रहेको उनको भनाई थियो । हात्ती प्रवेश गर्न नदिन मुख्य प्रवेश गर्ने ठाउँमा नै घेरावारा हुनुपर्ने भण्डारीको धारणा छ । उनले नेपाल आइसकेका हात्तीबाट सुरक्षित हुन चिया, तोरी र कागतीको विरुवा लगाउन सकिने सूझाव दिए ।
बाँहुनडाँगीबाट हात्ती प्रवेश गर्छ, जलथलमा फेन्सिङ लगाएर हुन्न, उनले भने – गाउँमा छिरिसकेपछि फेन्सिङ लगाउँदा हात्तीका कारण जीउधनमा जोखिम बढ्छ । झापामा हात्तीको पीडा धेरै बोल्ने गरिएको भन्दै उनले मानव समुदायको पीडा थप जटिल रहेको सुनाए ।
कतिपय सहभागीहरुले हात्ती कसरी मरिरहेको छ भन्ने बारे खोजी हुनुपर्ने धारणा राखेका थिए । फेन्सिङ गरेको क्षेत्रमा धेरै हात्ती मरिरहेको भनाई थियो ।
यस्तै, धनमाया गौतमले वन्यजन्तुबाट सुरक्षित रहन समुदायस्तरमा सचेतनाको खाँचो रहेको बताइन् । उनले वन्यजन्तुका कारण महिला र बालबालिका धेरै प्रभावित रहेको जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जिल्लामा जंगली हात्ती नियन्त्रणमा धेरै प्रयास भए पनि जीउधनको क्षति कम नभएको बताए । उनले विद्युतीय फेन्सिङबाट मात्रै हात्ती नियन्त्रण हुन नसक्ने धारणा राखेका थिए ।
यस्तै, सहेश पौडेलले संरक्षणका लागि समुदायस्तरमा अलग्गै संरचना बनाउनुपर्ने बताए । उनले स्थानीय नागरिकको सहभागितामा बन्ने संरचनाले स्थानीय समस्या, जोखिम र समाधानबारे पहिचान हुने बताए । स्थानीयबासीले नै वन र वन्यजन्तुको संरक्षण गर्न सक्ने उनको धारणा थियो ।
वातावरण कानुन समाजका अध्यक्ष वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणका लागि विद्यमान कानुनी व्यवस्थाबारे सहजीकरण गरेका थिए । वन्यजन्तुको गैरकानुनी ओसारपसार गर्दा हुने सजाय र भइरहेका अभ्यासबारे सहजीकरण गरेको अधिवक्ता हेमकला कट्टेलले जानकारी दिइन् ।
सहभागीहरुले झापामा काठ र बँदेलको तस्करी धेरै हुने गरेको जानकारी गराए ।







प्रतिक्रिया