बिर्तामोड

झापामा भव्यताका साथ तमु ल्होसार मनाइने

झापामा भव्यताका साथ तमु ल्होसार मनाइने


बिर्तामोड । गुरुङ समुदायहरूको महान पर्व तमु ल्होसार–२०८२ झापामा भव्यताका साथ मनाइने भएको छ ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाको आयोजनामा यही पुस १२ गतेदेखि १५ गतेसम्म तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइने भएको हो ।

झापाको बिर्तामोड नगरपालिका–३ स्थित तमु संग्रहालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय सदस्य एवम् कोशी प्रदेश प्रमुख आनन्द गुरुङले यस वर्ष चार दिनसम्म हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाउन लागिएको जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्य रहने उहाँले बताउनुभयो ।

पर्वको अवसरमा पुस १२ गते बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिमतर्फको खुला मैदानमा ‘गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम’ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । परिषद्का केन्द्रीय सल्लाहकार समिति सदस्य जलकुमार गुरुङले पछिल्लो समय नेपालमा हरेक चाडपर्व हरेक जातजातिले समान रुपले मनाउन थालेको बताउनुभयो ।

सोही अनुरूप तमु ल्होसार पर्व पनि साझा पर्वका रूपमा स्थापित भई सबैले मनाउन थालिसकेको उल्लेख गर्नुभयो । पर्वको अवसरमा आयोजना हुन लागेको ‘सांस्कृतिक तथा खेलकुद कार्यक्रम’मा सबैले सहभागिता जनाएर साझा पर्वका रूपमा तमु ल्होसार मनाउन उहाँले आह्वान समेत गर्नुभयो ।

बहुजाति, बहुभाषाभाषी, बहुधार्मिक, संस्कार, संस्कृति तथा रीतिथितिको विविधता भएको नेपाली समाजमा आपसी सद्भाव मजबुत बनाइ राख्न गुरुङ समुदायले मनाउने तमु ल्होसारले मद्दत पुगोस् भन्ने मूल उद्देश्य रहेको परिषद्का झापा अध्यक्ष जगतमान गुरुङले बताउनुभयो ।

तमु ल्होसार–२०८२ का परिषद्का उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भागिमान गुरुङले ‘सांस्कृतिक तथा खेलकुद कार्यक्रम’मा आठ हजार भन्दा बढी मानिसको सहभागिता रहने बताउनुभयो । कार्यक्रममा गुरुङ समुदायको विशेष परिकारका साथै राष्ट्रियस्तरका कलाकारहरूबाट सांगीतिक कार्यक्रम, छेलो हान्ने, डोरी तान्ने लगायतका खेलकुदका कार्यक्रम हुने उहाँले बताउनुभयो ।

तमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो । तमु ल्होसार प्रत्येक वर्ष निश्चित दिन अर्थात पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस १४ गते सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुने र पुस १५ गतेदेखि क्रमिक रुपमा विस्तारै रात छोटिने र दिन लम्बिने मान्यता छ ।

वर्ष गणना गर्ने विक्रम सम्वत् प्रचलनमा आउनु भन्दा अगाडि गुरुङ जातिका पूर्वजहरुद्वारा प्रत्येक एक वर्षलाई एउटा पशु वा पंक्षीको नाम दिएर वर्ष गणना गर्ने परम्परालाई ल्हो वा वर्ग भनिन्छ ।

गुरुङ जातिको बहुल बसोबास भएको विशेषतः गण्डकी प्रदेशका गाउँहरुमा ल्होको प्रयोग तथा उमेर गिन्ती गर्ने परम्परागत पद्धति अझै पनि यथावत् छ । प्रत्येक एक वर्षको एउटा पशु वा पक्षीको नाम दिइएको वाह्न वर्षपछि पुनः दोहोरिने ल्हो वा वर्ग लगभग ज्योतिषीय राशि जस्तै चक्रीय प्रणाली हुने हुन्छ ।

यही परम्परालाई निरन्तरता दिँदै तमु ह्युल छोंज धीं गुरुङ राष्टिय परिषद झापाको आयोजनामा सप्रिला ल्हो (सर्प वर्ग) को बिदाइ तथा त ल्हो (घोडा वर्ग) को स्वागतको रुपमा आगामी पुस १२ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम सहित भव्य रुपमा तमु ल्होसार पर्व मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा परिषदका जिल्ला उपाध्यक्ष उदय गुरुङ, पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, परिषद्का नगर अध्यक्ष कुमार गुरुङ, महिला परिषद् झापाकी अध्यक्ष दुर्गा गुरुङ, विद्यार्थी अध्यक्ष नरेश गुरुङ लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन परिषदका जिल्ला सचिव भागीमान गुरुङले गर्नुभएको थियो ।

चार दिवसीय कार्यक्रम
चार दिने कार्यक्रम अन्तरगत पहिलो दिन पुस १२ गते बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिमतर्फको खुला मैदानमा गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना हुनेछ ।
त्यस्तै, पुस १३ र १४ गते प्रत्येक एकाइमा एकाई समितिको आयोजनामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिनेछ भने पुस १५ गते प्रत्येक क्षेत्रका आ–आफ्ना गुम्बामा धार्मिक सांस्कृतिक कार्यक्रम (पूजाआजा, स्वस्ति–शान्ति) गरी कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस :

1.5k
Shares