Banner news

हात्तीको आहारा धान्नै सक्दैनन् झापाका वनहरु

हात्तीको आहारा धान्नै सक्दैनन् झापाका वनहरु


प्रदीप परियार

बिर्तामोड । वन्यजन्तुको आहाराका लागि हल्दिवारीस्थित पाथीभरा कालिका सामुदायिक वनले केरा, बाँस रोपेको छ । पानीको व्यवस्थापनका लागि वन उपभोक्ता समितिले पोखरी समेत निर्माण गरेको अध्यक्ष सागर पोर्तेलले जानकारी दिए ।

आहाराका लागि केरा, बाँस र पानीको व्यवस्थापन गर्दा पनि वन्यजन्तु मानववस्ती आउने गरेको वन समितिका अध्यक्ष पोर्तेलले जानकारी दिए । उनका अनुसार वन्यजन्तु आहाराकै खोजीमा वस्ती आएका हुन् । पाथीभरा कालिका सामुदायिक वनमा हात्ती, मृग, चित्तल,बदेल,बाँदर,अजिंगर, कछुवा, स्याल, सालक, खरायो, वन कुखुरा, मयुर पाइन्छ । पर्याप्त आहारको व्यवस्था गर्न नसकेकै कारण वन्यजन्तु गाउँ आएको हुन सक्ने पोर्तेलको भनाई छ ।

झापाको हल्दिवारीमा रहेको जलथल जंगल क्षेत्रमा २२ वटा सामुदायिक वन रहेका छन् । ६ हजार ३ सय हेक्टरमा फैलिएको जलथल जंगलमा जिल्लाका अन्य जंगलहरुभन्दा धेरै वन्यजन्तु रहेको बताइन्छ । सामुदायिक वनहरुले चोरी तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनको समेत सहयोगमा विशेष गस्ती गर्दै आएका छन् ।

कनकाई सामुदायिक वनले वन्यजन्तुको प्रवेश रोक्नका लागि घेराबारा नै लगाएको छ । वनभित्र आहाराको पर्याप्त व्यवस्था नभएको वनका अध्यक्ष ख्याम ओलीले जानकारी दिए । उनले वनभित्र चरणको अवस्था नभएको बताए ।
वन क्षेत्रमा भर्खरै फलफूलको विरुवा रोपेको जानकारी दिए । पानीको व्यवस्थाका लागि पोखरी पनि बनाउने योजना सुनाए । सानो दहजस्तो ठाउँ छ, पोखरी पनि बनाउदैछौं – अध्यक्ष ओलीले भने । उनका अनुसार कनकाईमा बदेल, स्याल, डेँडु लगायतका वन्यजन्तु पाइने गरेको छ । बेलाबेला हात्ती समेत आउने गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले जिल्लाभर वन्यजन्तुका लागि बाँस, केरा र आउटेङगा (हात्तीफल) लगाइएको जानकारी दिए । वन्यजन्तु रहने वनमा आहाराको व्यवस्था गरिएको उनको भनाई छ । उनका अनुसार वन्यजन्तुबाटै आहाराको संरक्षण हुन सकिरहेको छैन । भण्डारीले भने – आहाराका लागि लगाइएका बोटविरुवा तत्कालै वन्यजन्तुले खाइदिने, उखेल्ने, नष्ट गर्ने गरेको छ । केरा लगाइसक्दा खाइहाल्छ ।

अध्यक्ष भण्डारीले झापामा ११ प्रतिशत क्षेत्रमा वनजंगल रहेको जानकारी दिए । यहाँको वनक्षेत्रमा रहेको आहाराले १-२ वटा हात्तीलाई मात्र पुग्छ । कहिलेकाँही १-२ सय हात्ती आउँछ, उनले भने – जति आहाराको व्यवस्था गरे पनि पुराउन सकिदैन । एउटै हात्तीले २ क्वीन्टलसम्म खाइदिन्छ ।

जिल्लामा डिभिजन वन कार्यालय, सामुदायिक वनहरु आहार व्यवस्थापनमा क्रियाशिल रहँदै आएको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार गत वर्ष वन्यजन्तुको लागि पानी व्यवस्था गर्न १० लाखको लगानीमा पोखरी निर्माण गरिएको थियो ।

वातावरण विद् हेमकला कट्टेलले आहाराका लागि वन समितिहरुले विरुवा लगाउने कामसम्म गरिरहेको बताइन् । उनले विरुवा लगाएर मात्र नहुने तर्क गरिन् । विरुवा लगाउने, हुर्काउने, फलाउने र खुवाउने चरण पुरा नगरेसम्म आहाराको व्यवस्था गरेको मान्न सकिदैन, उनले भनिन् – आहाराको राम्रो प्रवन्ध नभएकै कारण वन्यजन्तु मानववस्ती आएका हुन् । उनले कुन वन्यजन्तुले के खान्छ भन्ने कुरा छुट्टाएर आहाराको व्यवस्थान गर्नुपर्ने सूझाव दिइन् । पछिल्लो समय आहाराको व्यवस्था गर्नुपर्ने चेतना बढ्दै जानु सकारात्मक भएको उनको धारणा छ ।

शेयर गर्नुहोस :

270
Shares