बिर्तामोड । झापाबाट पठन संस्कृति वर्ष २०२६ को घोषणा गरिएको छ । सोमवार बिर्तामोडमा आयोजित कार्यक्रमबाट पठन संस्कृतिलाई सामुहिक अभियानको रुपमा घोषणा गरिएको हो ।
वरिष्ठ अधिवक्ता, लेखक लीला उदासी, सहकारी एवम् सामाजिक अभियन्ता महेन्द्र कुमार गिरी र सामाजिक अभियन्ता लेखक केदार शर्मासहित सर्जकहरुले पठन संस्कृति वर्ष २०२६ अभियानको घोषणा गरेका हुन् । अभियानका लागि अभियन्ता, विरता रिडर्स, रिडर्स अभियान नेपाल, झापाली साहित्य समाजको आयोजनामा आयोजित कार्यक्रममा जिल्लाका एक सयभन्दा बढी संघसंस्थाहरुको सहभागिता रहेको छ ।

अभियान घोषणा कार्यक्रममा वरिष्ठ अभिवक्ता, लेखक लीला उदासीले झापाको इतिहासबारे विवेचना गरेका थिए । तीर्थ सिग्देलको त्यो झापा पुस्तकलाई समेत आधार बनाउदै जिल्लाको विगतका सन्दर्भमा विवेचना गरेका उदासीले झापाका भोगाईहरु सुनाए । उनले त्यो झापामा उल्लेखित विषयवस्तुहरुले मात्र झापालाई पर्याप्त बुझ्न नसकिने धारणा व्यक्त गरे । त्यो झापामा धेरै विषयहरु समेटिएका छन्, उदासीले भने – अझै धेरै विषयवस्तुको खोजी गर्न सकिन्छ । जिवित पात्रहरुको अनुवर र भोगाईहरु समेटिएको पुस्तकले पाठक वर्गमा विश्वास बढाउने बताए ।
लेखक उदासीले झापामा मानववस्ती बस्दाका समस्या, औलो आतंक, उपचारमा भएका समस्या, वन्यजन्तुको आक्रमण, चोरी, त्यो बेलाका समुदायहरुहरुको चर्चा गरे । झापा बुझ्नका लागि अध्ययन गर्नुपर्ने यसअघिका प्रकाशनहरु समेत जानकारी गराए ।
यस्तै, सहकारी एवम् सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीले झापामा पठन संस्कृतिलाई दिगो अभियान बनाउन अक्षयकोष बनाउन सूझाव दिएका छन् । उनले अभियानलाई सफल र दिगो बनाउन स्रोतको व्यवस्थापन अनिवार्य भएको बताए ।
झापामा विभिन्न सामाजिक अभियानहरुको अगुवाई गरेका गिरीले पठन संस्कृति अति आवश्यक भएको बताए । उनले अध्ययनले चेतनाको विकास गर्ने र सोच बदल्ने भनाई राखेका थिए । उनका अनुसार पठन संस्कारले नेतृत्व गर्न सिकाउनेछ । नविन सोचका लागि अध्ययन अनिवार्य भएको उनको भनाई थियो । महिलाहरु शिक्षित हुँदा पुस्ताको भविष्य नै उज्नल हुने बताउदै उनले शिक्षिक समाज निर्माणका लागि पठन संस्कृति अति आवश्यक भएको बताए ।
अभियन्ता गिरीले पारिवारिक रुपमा पठनपाठनको वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् । उनले आगामी ६ महिनादेखि १ वर्षभित्र कहिल्यै नथाकौं भन्ने पुस्तक प्रकाशन गर्ने घोषणा गरेका छन् ।
उनले झापामा मायाको चिनोमा पुस्तक दिने कामको सुरुवात गर्नुपर्ने बताएका छन् । बच्चाको मुख हेर्न जाँदा पुस्तक उपहार दिऊ, सार्वजनिक यातायातमा यात्रा गर्दा पुस्तक अध्ययन गर्दै यात्रा गरौं, पुस्तक बोकेर हिड्ने बानी गरौं, अस्पतालका प्रतिक्षालयहरुमा पुस्तकको व्यवस्था गरौं, संघसंस्थाहरुले पठन संस्कृतिका लागि कार्यक्रमहरु सञ्चालन गरौं, वित्तीय संघ संस्थाहरुले काउण्टरमा पुस्तक राखौं, उनले भने ।
अर्का सामाजिक अभियन्ता, लेखक केदार शर्माले धेरै पढ्नेहरुमा नकारात्मक परिणामका रुपमा अहंकार पाइने गरेको बताए । उनले अहंकारलाई पनि पढाईबाटै मुक्त सकिने बताए । कितावको माध्यमबाटै अहंकारको अन्त्य गर्न सकिने उनको भनाई थियो ।
शर्माले जीवनमा लागू नहुने किताव बौद्धिक भारी मात्रै हुने जिकिर गरें । कितावले समाजप्रति उपयोगी, नरम र लचिलो बनाउन मद्दत गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । किताव पढ्दै जाँदा आफुलाई तान्न सकेन भने पढ्न छोड्नुपर्छ, उनले भने – हामीले कुनै लेखकको ऋण खाएका छैनौं । समय मिले मात्रै पढ्छु भन्दा पढ्न सकिन्न, उनले भने – पढाईका लागि समय मिलाउनुपर्छ ।
पठन संस्कृति भएका देशहरुमा मानव विकास सुचांक धेरै माथि भएको उनको भनाई छ । त्यसैले पनि पढाई कति महत्वपूर्ण छ भन्ने बारे बुझाउन अपरिहार्य रहेको बताए । अभियानका बारेमा इशा बुक्सका सञ्चालक केशव मैनालीले प्रकाश पारेका थिए ।
सो कार्यक्रममा लेखक तीर्थ सिग्देलद्वारा लिखित ‘त्यो झापा’ पुस्तकको विमोचन गरिएको छ । यस्तै, हेम गुरागाँईको दिगो समाधान नामक पुस्तकको लोकार्पण गरिएको छ ।
कार्यक्रममा साहित्य सर्जक दुर्गा सिग्देल, रश्मिशेखर, लिला अनमोल,राजकुमार विश्वकर्मा, पुण्य खरेल,कृष्ण प्रसाद मिश्र, रेखा सापकोटा, नमूना निरौला, दिपेन आचार्य, लक्ष्मी अच्यूत ढुङगाना, खगेन्द्र खुशी लगायतले विभिन्न साहित्य रचना प्रस्तुत गरेका थिए ।







प्रतिक्रिया