Banner news

कनकाई माईमेलामा वर्षेनी घट्दैछ सहभागिता

कनकाई माईमेलामा वर्षेनी घट्दैछ सहभागिता


बिर्तामोड । झापाको कनकाई माईमा लाग्दै आएको माईमेलामा मेला घुम्न आउनेको संख्या घटेको छ । मकर सक्रान्तिमा लाग्दै आएको कनकाई माई मेलामा आउनेहरुको संख्या विगतको तुलनामा धेरै घटेको हो ।

महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पहिचान बनेको माईमेलामा वर्षेनी संख्या घट्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । प्राचीन आस्थासँग जोडिएको माई मेलामा मेला घुम्न आउनेहरुको संख्या विगतको तुलनामा धेरै घटेको कनकाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए । उनले मेला घुम्न आउनेहरुको संख्या घट्दै गएकोमा चिन्ता प्रकट गरेका छन् ।

यो वर्ष महसुस हुने गरी माइमेलामा उपस्थिति घट्यो, वडाध्यक्ष सुवेदीले भने, ‘ विगतमा ५ देखि ७ लाख मान्छे माईमेला आउथें ।’ यो वर्ष ३ लाख बढी मात्रै आएको अनुमान छ । घुमफिर गर्न मेला बाहेकका पर्यटकीय स्थलहरु धेरै भएकाले पनि कम भएको हुन सक्ने सुवेदीको भनाई छ । पहिले घुमफिर गर्ने मेला बजार बाहेक केही थिएन, अहिले रोजीरोजी घुम्न पाइन्छ, उनले थपे ।

विभिन्न आन्दोलनको प्रभाव, निर्माणाधिन सडक संरचना र महंगीले पनि मेलामा सहभागी हुनेहरुको संख्या घटेको हुन सक्ने धारणा छ । मेलामा विगतको जस्तो चाम नभएको बताएका वडाध्यक्ष सुवेदीले आउने वर्षहरुमा मेला आयोजना गर्दा सोच्नैपर्ने अवस्था आएको सुनाए । उनका अनुसार ठेक्का प्रक्रियाका कारण पनि प्रभाव पर्न सक्छ, उनले भने, ‘ठेक्का प्रक्रियाबाट मेला लगाउँदा त्यसको भार व्यापारीलाई पर्छ , त्यसले गर्दा पनि व्यापारीहरु पनि आउन मान्दैनन् । महंगी पनि हुन्छ ।’ आगामी दिनमा नगरपालिका वा धार्मिक संस्थाहरुले मिलेर कनकाई माई मेला लगाउनुपर्ने हुन सक्छ ।

कनकाई धाम धार्मिक विकास संस्थाका सचिव पं. यमप्रसाद खतिवडाले कोरोनाअघिको तुलनामा अहिलेको उपस्थितिमा धेरै भिन्नता रहेको जानकारी दिए । उनका अनुसार माईमेलामा विगतको जस्तो सहभागिता हुन सकेन । पहिले ७ दिनसम्म चल्ने मेला अहिले २ दिनमा सकिन थालेको छ । यो वर्षको माई मेला पनि १ र २ गतेमै सकिएको छ ।

उनका अनुसार विगतमा पुस मसान्तमै भारतीय सवारीहरुको चाप हुने गरेको थियो । राती नै आउने, बिहान मकर स्नान गरेर मेला भरेर फर्किने चलन थियो । यो वर्ष फाट्टफुट्ट बाहेक भारतीय सवारी देखिएनन् । धेरै टाढाटाढाबाट मेला घुम्न आउने गरेका थिए, सचिव खतिवडाले भने – यो वर्ष त्यस्तो रहेन । खेल तमासाको रौनक हुन्थ्यो । अहिले विगतको जस्तो रौनक देखिएन ।

कनकाई नगरपालिकाले केही वर्षदेखि ठेक्का प्रक्रियाबाट मेला सञ्चालन गरिरहेको छ । ११ लाखमा ठेक्का खोलेको कनकाई नगरपालिकामा व्यवसायीले १८ लाखमा ठेक्का लिएका थिए । सचिव खतिवडाका अनुसार व्यवसायीले ११ लाखमा खुलाएको ठेक्का १८ लाख पुराएपछि त्यसको प्रत्यक्ष मार मेलामा व्यापार गर्न आउने व्यापारीहरुलाई पुगेको छ ।
विगतमा भारतका विभिन्न स्थान र जनकपुरदेखिका व्यापारीहरु मेलामा व्यापार गर्न आउँथे । अहिले भाडा तिर्न नसक्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

शेयर गर्नुहोस :

2.3k
Shares