सुनिरा मैनाली
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि झापामा राजनीतिक चहलपहल निकै बढेको छ । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म ९० जनाले आफ्नो मनोनयन दर्ता गराएका छन् । जसमा महिला उम्मेदवार बन्नेहरूको संख्या १५ रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कुल उम्मेदवारको तुलनामा महिलाको सहभागिता करिब १७ प्रतिशत मात्र देखिएको छ । १५ महिला उम्मेदवारमध्ये १३ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् भने दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
झापाका पाँच क्षेत्रमध्ये क्षेत्र नं. २ मा महिला उम्मेदवारको संख्या सबैभन्दा धेरै देखिएको छ । यस क्षेत्रमा प्रमुख दलहरूले महिलालाई नै चुनावी मैदानमा उतारेका छन् । यस क्षेत्रमा महिला उम्मेदवारको संख्या मात्र बढी छैन, यहाँ प्रमुख दलहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सरिता प्रसाईं र नेकपाकी धर्मशीला चापागाईं यसै क्षेत्रबाट चुनावी मैदानमा उत्रिनुभएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराउँदा नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावतीले पनि आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट पूर्वसभामुख देवराज घिमिरेसहित १८ जनाले मनोनयन दर्ता गराउनुभएको छ । जसले यहाँको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा पनि महिलाहरूको उपस्थिति अर्थपूर्ण देखिएको छ । झापा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र जनता समाजवादी पार्टी (जसपा) की रमा मेचेबीच प्रतिस्पर्धा हुँदैछ ।
झापा क्षेत्र नं ३ मा तीन जना महिला उम्मेदवार मैदानमा उत्रिनुभएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला साँवा, नेमकिपाकी धर्मलक्ष्मी दुवाल र जसपाकी विनिताकुमारी राजवंशीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै झापा क्षेत्र नं ४ मा दुई जना महिला चुनावी दौडमा हुनुहुन्छ । जसमा श्रम संस्कृति पार्टीकी अमृतादेवी राई र नेमकिपाकी तुलसी लक्ष्मी दुमरु रहनुभएको छ । झापा क्षेत्र नं ५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमिरियाले सशक्त उम्मेदवारी दिनुभएको छ । यस्तै, रञ्जिता गौतम र शोभा भण्डारीले स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएर चुनावी मैदानलाई त्रिपक्षीय बनाउने प्रयास गर्नुभएको छ ।
जिल्लाका पाँचवटै क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं ५ सबैको आकर्षणको केन्द्र बनेको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र भएकाले यहाँको प्रतिस्पर्धा सधैँ चर्चामा रहने गर्छ । यसपटकको निर्वाचनमा यो क्षेत्रमा काठमाडौँका मेयर बालेन शाहको राजनीतिक प्रभाव र स्वतन्त्र उम्मेदवारीको लहरले पनि उत्तिकै चर्चा पाएको छ ।
मनोनयन दर्तासँगै झापाका गाउँदेखि सहरसम्म चुनावी रौनक छाएको छ । प्रतिनिधिसभाको यो निर्वाचनमा पुरुषको तुलनामा महिलाको संख्या निकै कम देखिए तापनि विशेषगरी क्षेत्र नं. २ को प्रतिस्पर्धाले देशभरकै ध्यान खिचेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९० जना उम्मेदवारमध्ये १५ जना मात्र महिला हुनुले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको संकेत गरे पनि कुल संख्याको तुलनामा यो अझै न्यून रहेको सरोकारवालाहरू बताउँछन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारको संख्या धेरै भए पनि मुख्य प्रतिस्पर्धा भने ठूला दलहरूबीच नै केन्द्रित हुने अनुमान छ । यद्यपि, झापाका विभिन्न क्षेत्रमा महिला उम्मेदवारको अर्थपूर्ण उपस्थितिले लैङ्गिक प्रतिनिधित्व, समावेशिता र नीतिगत बहसलाई यसपटक चुनावी एजेन्डाको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा झापामा चुनावी प्रचार–प्रसारले तीव्रता पाएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान र चुनावी सभामा केन्द्रित भएका छन् । उता मतदाताहरू भने उम्मेदवारको विगतको रेकर्ड, चुनावी एजेन्डा र विकासका प्रतिबद्धतालाई सुक्ष्म रूपमा नियाल्दै आफ्नो अमूल्य मत दिने तयारीमा जुटेका छन् ।







प्रतिक्रिया