झापा । शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा दमक नगरपालिका र कनकाई नगरपालिका आमनेसामने हुने भएका छन् । मंगलबार सम्पन्न दुई सेमीफाइनल खेलबाट दमक र कनकाई फाइनलमा प्रवेश गर्दै उपाधिका लागि भिड्ने भएका हुन् ।
पहिलो सेमीफाइनल खेलमा दमक नगरपालिकाले बाह्रदशी गाउँपालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै सहज जितसहित फाइनल यात्रा तय गरेको छ । दमकका लागि जर्सी नम्बर ८ का दिपेन्द्र घिमिरेले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।

त्यस्तै जर्सी नम्बर ११ का सुजन राई र जर्सी नम्बर १३ का रोशन तामाङले समान एक–एक गोल थपे । निर्धारित समयमा बाह्रदशीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा गोलरहित रह्यो । उत्कृष्ट प्रदर्शन गरेका दमकका सुजन राई ‘म्यान अफ दी म्याच’ घोषित भए ।
त्यस्तै, दोस्रो सेमीफाइनल खेलमा कनकाई नगरपालिकाले गौरीगञ्ज गाउँपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा कनकाईका जर्सी नम्बर ७ का रुचन लिम्बुले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । खेलभर दबाब सिर्जना गरे पनि गौरीगञ्जले पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्नुप¥यो । खेलका उत्कृष्ट खेलाडी कनकाईका रुचन लिम्बु ‘म्यान अफ दी म्याच’ घोषित भए ।
आयोजक शिवसताक्षी नगरपालिकाका अनुसार फाइनल खेल बुधबार दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।







प्रतिक्रिया