खेल

शिवसताक्षीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शिवसताक्षीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहका बीच उद्घाटन गरिएको छ । दुधे रंगशालामा शनिबार उद्घाटन भएको प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।
नगर प्रमुख मेघाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो ।


खेलकुदको प्रवद्र्धन गर्दै विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थोप्राले खेलकुदले विद्यार्थीहरूको जीवनशैली अनुशासित, नैतिकवान र ऊर्जाशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै भविष्यमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बलियो जगका रूपमा रहने उहाँको विश्वास रहेको छ ।

नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगितामा ४० विद्यालयका करिब ३०० विद्यार्थी विभिन्न खेल विधामा उपाधिका लागि प्रतिस्पर्धा गर्ने शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो ।

प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, कराँते, दौडलगायतका खेल विधाहरू समावेश गरिएको छ । यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक स्फूर्ति, अनुशासन तथा खेल भावना विकास गर्ने विश्वास लिइएको छ ।


उद्घाटन समारोहमा कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने स्काउटर विद्यार्थीले मार्चपास गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, खेलाडी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम सामाजिक विकास समितिकी सदस्य यशोदा विमलीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य जनआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवानीप्रसाद थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

27
Shares