खेल

नकलबन्दा फुटबल : फाइनलमा आयोजक र आदर्श भिड्ने

नकलबन्दा फुटबल : फाइनलमा आयोजक र आदर्श भिड्ने


पेनाल्टीमा धुलाबारीलाई हराउँदै बुधबारे उपाधि नजिक

झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । अन्तिम सेमिफाइनल खेलमा आदर्श युवा क्लब बुधबारेले धुलाबारी फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । अब उपाधिका लागि आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा बिहीबार सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक रह्यो । निर्धारित ७० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।

खेलको ३८औँ मिनेटमा आदर्शका निमा तामाङले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा धुलाबारीका विवेक राजवंशीले महत्वपूर्ण गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा पुर्‍याए । अन्तिम समयमा आएको उक्त गोलले खेललाई थप रोमाञ्चक बनाएको थियो ।

पेनाल्टी सुटआउटमा भने आदर्श युवा क्लब बुधबारेले आफूलाई मजबुत सावित गर्‍यो । आदर्शका निमा तामाङ, सुजन मगर, सञ्जय लिम्बू र निशान बस्नेतले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए । यता धुलाबारीका अरुण मेचे र राजु दर्जीले मात्र गोल गर्न सके । सेमन्त थापा र फिरोज अलीको प्रहार भने आदर्शका गोलरक्षक उपेन्द्र ल्वागुनले उत्कृष्ट रूपमा बचाए ।
यस खेलमा आदर्शका गोलरक्षक उपेन्द्र ल्वागुन नायक बने । उनले पेनाल्टीमा महत्वपूर्ण दुई बचाउ गर्दै टोलीलाई जित दिलाए । उत्कृष्ट प्रदर्शनका लागि उनी ‘म्यान अफ द म्याच’ घोषित भए र नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।
अब प्रतियोगिताको बहुप्रतीक्षित फाइनल खेलमा आदर्श युवा क्लब बुधबारे र आयोजक नकलबन्दा स्पोर्टिङ क्लबबीच शनिबार (बैशाख ५ गते) प्रतिस्पर्धा हुनेछ । दुवै टोल उत्कृष्ट लयमा रहेका कारण फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा कुल १० टोलीहरूको सहभागिता रहेको थियो । सहभागी टोलीहरूमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब, ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डिएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी हात पार्नेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद रु. १ हजार ५ सय प्रदान गरिँदै आएको छ । साथै प्रतियोगिताको अन्त्यमा बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३ हजार १ सय नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल नजिकिँदै जाँदा स्थानीय खेलप्रेमीहरूमा उत्साह झन् बढेको छ । अब सबैको ध्यान उपाधि कसले उचाल्छ भन्नेमा केन्द्रित भएको छ ।

शेयर गर्नुहोस :

1.3k
Shares