Banner news

झापामा मानसिक स्वास्थ्य समस्याले बढ्यो आत्महत्याको घटना, ‘सेल्फ केयर’ गर्न सुझाव

झापामा मानसिक स्वास्थ्य समस्याले बढ्यो आत्महत्याको घटना, ‘सेल्फ केयर’ गर्न सुझाव


प्रदीप परियार

झापा । झापामा मानसिक तथा दीर्घरोगका कारण आत्महत्या गर्नेहरुको संख्या बढ्दै गइरहेको एक तथ्याङकले देखाएको छ । जिल्लामा आत्महत्याको ग्राफ बढ्नुको कारणहरुमध्ये पारिवारिक बेमेल र मानसिक स्वास्थ्य समस्या तथा दीर्घरोग मुख्य कारण बन्दै गइरहेको छ ।

२०८२ साउनदेखि चैत मसान्तसम्म झापामा १३७ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ । त्यसमध्ये ७१ जना मानसिक तथा दीर्घरोगका कारण आत्महत्या गरेको अनुसन्धानबाट खुलेको छ । पारिवारिक बेमेलका कारण ४०, मादक पदार्थ सेवनका कारण ३७, प्रेममा असफल भएका कारण १३, अध्ययनमा असफलता ४, आर्थिक लेनदेनका कारण ४, अश्लिल भिडियो सामाजिक सञ्जालमा लगाई १ जनाले आत्महत्या गरेको प्रहरीको भनाई छ । यस्तै, ६७ जनाको आत्महत्याको कारण खुल्न नसकेको झापा प्रहरीले जनाएको छ ।

Photo : AI

चालु आर्थिक वर्षको चैत मसान्तको विवरण अनुसार भद्रपुुरमा २७, मेचीनगरमा ४२, बिर्तामोड २०, कनकाई २१, अर्जुनधारा २६, दमक २८, गौरादह ९, शिवसताक्षी १०, कचनकवल ७, हल्दिवारी ४, झापा गापा ६, बाह्रदशी ९, बुद्धशान्ति १३, गौरीगञ्ज ६ र कमलमा ९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

आत्महत्या गर्नेहरुमा ३६ देखि ४५ वर्ष उमेर समूहको संख्या धेरै रहेको छ । विवरण अनुसार सो उमेरका ६१ जनाले आत्महत्या गरेका छन् । १६ वर्ष मुनीका ८, १६–२५ वर्षका ५०, २६–३५ वर्षका ४५, ४६–६० वर्षका ५० र ६० वर्षमाथिका १९ जनाले आत्महत्या गरेका छन् । २ जनाको उमेर नखुलेको प्रहरीले जनाएको छ ।

आफ्नो हेरचाहलाई प्राथमिकता दिऊ : पराशर्मकर्ता मिश्र
धेरै आत्महत्याको घटना भइरहेको मेचीनगर नगरपालिकामा रेमि परियोजना अन्तर्गत मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । सो परियोजना अन्तर्गत समुदाय र विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको परामर्शकर्ता सरस्वती मिश्रले जानकारी दिइन् ।

परामर्शकर्ता मिश्रका अनुसार समुदायस्तरमा सचेतना कार्यक्रम गर्दै समस्याको पहिचान गरेर स्वास्थ्य सचेतना प्रदान गर्ने गरिएको छ । उनले पछिल्लो समयमा सामाजिक सञ्जालमा धेरै समय दिएर व्यक्तिगत सम्बन्ध सुधारमा ध्यान नदिदा समस्या बढिरहेको बताइन् । उनले भनिन्, समस्या र भावनाहरु एकअर्कामा शेयर गर्ने काम हुन सकिरहेको छैन । जसका कारण मानसिक स्वास्थ्य समस्या बढ्ने, डिप्रेशनसम्म पुग्ने र आत्महत्या गर्ने ठाउँमा पुगिरहेकोे अवस्था छ ।

मिश्रले मानिसहरुलाई डिप्रेशनसम्म पुग्न दिन नहुने बताएकी छन् । बेलैमा समस्या पहिचान गरेर समाधान गर्नुपर्ने उनले बताइन् । समाजमा महिला, पुरुषहरुले सम्बन्ध सुधारमा विशेष ख्याल गर्नुपर्ने उनको तर्क छ । सम्बन्ध सुधार गर्ने, घुलमिल बढाउने हो भने धेरै मात्रामा डिप्रेशनबाट बच्न सकिन्छ, उनले थपिन् ।

व्यस्त जीवनशैली र व्यक्तिगत हेरचाहमा कमि आइरहेका कारण मानसिक समस्या बढिरहेको उनको बुझाई छ । मानसिक स्वास्थ्य समस्या, तनावबाट सुरक्षित रहन आपसी सम्बन्ध, व्यक्तिगत हेरचाहलाई ध्यान दिनुपर्ने मिश्र बताउछिन् ।
लागुऔषध पनि आत्महत्याको कारण
आत्महत्या न्यूनिकरणका लागि प्रहरीले समुदायस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । साझेदारीमा विभिन्न संघ संस्थाहरुको सहयोगमा प्रहरीले तथ्याङक विश्लेषणका आधारमा अभियान सञ्चालन गरिरहेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर व्यवहार समस्याले घटनामा वृद्धि भएको प्रहरीको निष्कर्ष छ । लागुऔषध प्रयोगले घर व्यवहार विल्लीवाठ भएपछि मत्यूको बाटो रोजिरहेको अध्ययनबाट खुलेको छ ।

मेचीगरका प्रवक्ता दिपक बरालले विद्यालयस्तरमा सचेतना कार्यक्रमको खाँचो बताएको बताएका छन् । उनले आत्महत्या न्यूनिकरणका लागि अलग्गै कार्यक्रम नबनाए पनि सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको बताए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरुका कारण पनि घटना बढिरहेको उनको भनाई छ । वडाध्यक्ष समेत रहेका प्रवक्ता बराल भन्छन्, सामाजिक सञ्जालबाट बढिरहेको यस किसिमका घटना कम गर्न आवश्यक देखिएको छ ।

कनकाई नगरपालिकाको उपप्रमुख आशा शिवाकोटीले कनकाईमा आत्महत्या न्यूनिकरण सम्बन्धी कार्यक्रम सञ्चालन नगरिएको जानकारी दिइन् । उनले आत्महत्या न्यूनिकरणका लागि आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

अनुसन्धानका संक्षिप्त रिपोर्ट
पहुँच नियन्त्रण
सन् २००८ मा ‘द लान्सेट’ मा प्रकाशित एक अनुसन्धानले कीटनाशक विषादीको सहज उपलब्धतालाई नियन्त्रण गर्दा आत्महत्याको दरमा ठूलो कमी आएको देखाएको छ । नेपालका ग्रामीण क्षेत्रमा विषादी सेवन गरी गरिने आत्महत्याका घटनाहरू बढी हुने भएकाले, विषादीको सुरक्षित भण्डारण बारे गरिएको चेतना र भण्डारण बक्सको प्रयोगलाई अत्यन्त प्रभावकारी मानिएको छ ।
‘गेटकीपर’ तालिमको प्रभावकारिता
विश्व स्वास्थ्य संगठनको ‘प्रिभेन्टिङ सुसाइडः अ रिसोर्स फर प्राइमरी हेल्थ केयर वर्कर्स’ प्रतिवेदन अनुसार, समुदायका व्यक्तिहरूलाई तालिम दिएर आत्महत्याको जोखिममा रहेका व्यक्तिहरूलाई छिटो पहिचान गर्ने विधि ले आत्महत्याको दरलाई २०% देखि ३०% सम्म कम गर्न सक्छ । यसले स्थानीय स्तरमा रहेका जनप्रतिनिधि वा सामाजिक अगुवाहरूले खेल्ने भूमिका कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

मानसिक स्वास्थ्य र सामाजिक अन्तरघुलन
विभिन्न समाजशास्त्रीय अनुसन्धानहरूले ‘सामाजिक अलगाव’ आत्महत्याको मुख्य कारणमध्ये एक हो भनी देखाएका छन् । विशेषगरी ‘इमाइल दुर्खिम’ को क्लासिक अध्ययनले समाजमा मानिस जति धेरै अन्य व्यक्तिहरूसँग जोडिएको हुन्छ, त्यति नै आत्महत्याको जोखिम कम हुन्छ भन्ने सिद्धान्त अघि सारेको छ । यही आधारमा अहिले स्थानीय तहमा ‘सामुदायिक अन्तरघुलन’ को कार्यक्रमलाई प्राथमिकता दिइन्छ ।

आर्थिक अवस्था र आत्महत्याको सम्बन्ध
हालका रिसर्चहरूले आर्थिक मन्दी र ऋणको बोझले आत्महत्या बढाउने देखाएका छन् । विशेषगरी सहकारी वा साना ऋणमा निर्भर समुदायमा वित्तीय सुरक्षा र परामर्शको अभावले तनाव बढाउँछ ।
‘सहकारीको समस्या र ऋण व्यवस्थापन’ ले पनि मानिसको मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ भन्ने कुरालाई यस अनुसन्धानले पुष्टि गर्छ ।

बाल तथा युवा केन्द्रित अनुसन्धान
किशोर–किशोरीमा हुने आत्महत्याबारे गरिएको अनुसन्धानले विद्यालयमा रहेको ‘बुलिङ’ र साइबर–बुलिङलाई प्रमुख कारक मान्दछ । यस्ता समस्या पहिचान गर्न विद्यालयमा ‘पियर सपोर्ट ग्रुप’ बनाउनु प्रभावकारी हुने अनुसन्धानले देखाएको छ ।

शेयर गर्नुहोस :

1.3k
Shares