Banner news

अपांगता भएकालाई हेर्ने दृष्टिकोण नबदलेसम्म अवसर पाउन गाह्रो : सरोकारवाला

अपांगता भएकालाई हेर्ने दृष्टिकोण नबदलेसम्म अवसर पाउन गाह्रो : सरोकारवाला


बिर्तामोड । अपांगता भएका नागरिकहरुलाई परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेत्रहिन युवा संघ नेपाल केन्द्रीय समितिले बिहीवार बिर्तामोडमा आयोजना गरेको बहुसरोकारवालासँगको संवादमा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । युवा, सीप, रोजगारी र उद्यमशिलता : स्थानीय अवसरदेखि आत्मनिर्भरता विषयक संवादमा वक्ताहरुले अपांगता भएका नागरिकहरुलाई परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म अवसरबाट बञ्चित हुनुपर्ने धारणा राखेका थिए । नेत्रहिन युवा संघ नेपालका केन्द्रीय सदस्य दिलकुमार राजवंशीले सञ्चालन गरेको प्यानल डिस्कशन अपांगता भएका नागरिकहरुलाई सीप, रोजगारी र उद्यमशिलतासँग कसरी जोड्न सकिन्छ भन्नेमा केन्द्रित थियो । अपांगता भएका नागरिकहरु सीप सिक्न र सिकेकाहरुले अवसर पाउनबाट बञ्चित भइरहेको सवाल जोडदारका रुपमा उठेको थियो ।

अपांगता अधिकारको क्षेत्रका क्रियाशिल अभियान्ता भेषराज न्यौपानले शारिरीकभन्दा मानसिक अशक्तता धेरै भएको बताएका छन् । उनले मानसिक रुपमा अशक्त भएकै कारण अपांगता भएकाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए । अभियान्ता न्यौपानेका अनुसार अपांगता भएका नागरिकहरु राज्यको नीति, भौतिक पूर्वाधारका संरचना र अपांगता भएकाहरुलाई हेर्ने गलत दृष्टिकोणका कारण कमजोर मनोवलका साथ बाँच्न बाध्य भएका छन् । ‘हामी बजार निस्क्यिौं भने अपांगतामैत्री डिपार्टमेन्ट छैन, शिक्षालय, पाठशाला, शौचालय केही पनि अपांगतामैत्री छैन’ उनले भने, ‘ हाम्रो मनोवल कसरी उठ्छ त ?’ उनले राज्यको नीति नै अपांगतामैत्री, पूर्वाधारसहित सबै क्षेत्रमा अपांगतामैत्री नभएसम्म मनोवल उठ्न नसक्ने धारणा व्यक्त गरे । अभियन्ता न्यौपानेले अवसर, रोजगारीको सवालमा परिवार र रोजगारदाताले नै ‘सक्दैन’ भन्ने भाष्य निर्माण गरेको उनको आरोप छ । उनले अवसर प्रदान गरेर अपांगता भएका नागरिकहरुको क्षमता जाँच गर्नुपर्ने सूझाव दिए ।

प्यानल डिस्कशनमा अपांगता भएका युवाहरुलाई सीप सिक्ने अवसर नपाइरहेको र सीप सिकेर उत्पादन गरेका सामग्री विक्रीमा समस्या भइरहेको सन्दर्भलाई महत्वका साथ उठाइएको थियो । अधिकांश सहभागीहरुले राज्यबाट पाउने छुट सुविधा नपाएको र सपांगसँग प्रतिष्पर्धा गर्न कठिन भइरहेको बताएका थिए ।

बिर्तामोड वाणिज्य संघका जीवन खड्काले स्थानीयलाई रोजगारदाताहरुले प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय उद्योगी व्यवसायीहरुले सीप, क्षमताका आधारमा स्थानीयस्तरमा युवाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले अपांगता भएका युवाहरुलाई सीपका आधारमा अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे । सीप सिकाउने निकायलाई अपांगता भएका युवाहरुलाई प्राथमिकतामा राखेर सीपमुलक तालिमहरु सञ्चालन गर्नुपर्ने उनको धारणा थियो ।

महिला उद्यमी संघ झापाको संस्थापक अध्यक्ष गोमा भट्टराईले अपांगता भएका नागरिकहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि राज्य पक्षबाट विशेष योजना आउनुपर्ने बताइन् । सीप सिकेर काम गर्नेहरुले उत्पादन गरेका वस्तुहरुको बजारकरणमा समस्या नभए मात्रै नयाँ युवाहरुलाई काममा लाग्न प्रेरणा मिल्ने उनको भनाई थियो ।

कृषि ज्ञान केन्द्र झापाका सन्तोष सुवेदीले अपांगता भएकाहरुका लागि लक्षित गरेर कृषि सम्बन्धित तालिमहरु सञ्चालन गर्न नसकेको बताए । काठमाडौंमा कार्यक्रम सञ्चालन भएपनि जिल्ला तहमा अपांगता लक्षित कार्यक्रम सञ्चालन गर्न नसकेको स्वीकार गरे । उनले लक्षित कार्यक्रमका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्ने बताए ।

हल्दिवारी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत तृष्णा थापाले अपांगता भएका नागरिकहरुलाई सीप सिकेर व्यवसाय सञ्चालन गर्न आर्थिक समस्या हुने गरेको बताइन् । पुँजी व्यवस्थापन गर्न नसकेकै कारण अपांगता भएका नागरिकहरु सीप सिकेर पनि उपयोग गर्न नसकेको उनको भनाई थियो । पुँजीको अभाव भएकाहरुलाई सहजीकरण गर्न आवश्यक रहेको थापाको धारणा छ ।

प्यानल डिस्कशनमा प्यानलिष्टका रुपमा अपांगता अधिकारको क्षेत्रमा क्रियाशिल भेषराज न्यौपाने, हल्दिवारी गाउँपालिकाबाट तृष्णा थापा, भद्रपुर नगरपालिकाबाट टिकाराम पाण्डे, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरबाट खिना तिम्सिना, कृषि ज्ञान केन्द्रबाट सन्तोष सुवेदी, मेचीनगर नगरपालिकाबाट रोम अधिकारी, बिर्तामोड उद्योग वाणिज्य संघबाट जीवन खड्का र महिला उद्यमी गोमा भट्टराईको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares