बिर्तामोड । झापाको अर्जुनधारा – ११ स्थित महारानीगञ्ज माविमा तीन दशकदेखि कार्यरत हुनुहुन्छ, अमरबहादुर राउत । विद्यालय सहयोगीको रुपमा कार्यरत राउतले काम सुरु गर्दा विद्यालयको अवस्था कमजोर थियो । सामान्य संरचना भएदेखि काम गर्नु भएका राउत अहिले भव्य र व्यवस्थित भवनमा कार्यरत हुनुहुन्छ ।
उहाँ २०५४ सालदेखि दैनिक कार्यालय सरसफाई, घण्टी बजाउने, पानी खुवाउनेदेखि विद्यालयका कार्यालय र कक्षाकोठा खोल्ने बन्द काम गर्दै आउनु भएको छ । विद्यालयमा काम सुरु गर्दाको अवस्था सम्झिदै उहाँले भन्नुभयो – त्यो बेला पेन्ट सुर्केर विद्यालय छिर्नुपर्ने अवस्था थियो । आज विद्यालयको अवस्थामा काँचुली फेरिएको छ ।

विद्यालय सहयोगीको रुपमा महारानीगञ्ज मावि प्रवेश गर्दा सामुदायिक विद्यालयहरुको अवस्था दयनीय थियो । अहिले अधिकांश सामुदायिक विद्यालयको अवस्था बदलिएको उहाँको भनाई छ । मंगलवार विद्यालय परिसरमा भेटिनु भएका राउतले धेरै परिवर्तन हुँदा हुँदै पनि विद्यालय सहयोगीहरुको अवस्थामा परिवर्तन नआएको गुनासो गर्नुभयो । विद्यालय सहयोगीहरुलाई राज्यले श्रम शोषण गरेको उहाँको धारणा छ । विद्यालय सहयोगीहरुप्रति राज्य नै उदार नभएको निष्कर्ष सुनाउनुभयो ।
२०५४ सालयता मुलुकमा धेरै परिवर्तन आए पनि विद्यालय कर्मचारीहरुको सवालमा परिवर्तन आउन नसकेको बताउनुभयो । श्रेणीविहीन निजामति कर्मचारीहरुको वेतन वृद्धि भइरहँदा सामुदायिक विद्यालयमा कार्यरत श्रेणीविहीन कर्मचारीप्रति सरकार वेखवर भएको उहाँको दावी छ । राज्यले देखेर पनि नदेखे सरह गरेको भन्दै गुनासो गर्नुभयो ।
उहाँले श्रेणीविहीन निजामति कर्मचारी सरह आफूहरुको पनि सेवा सुविधा वृद्धि हुनुपर्ने माग गर्नुभयो । हाम्रो माग ठुलो छैन, एउटै प्रकृतिको कर्मचारीमा विभेद नहोस् भन्ने मात्र हो, उहाँले भन्नुभयो – विद्यालय, पालिका, जिल्ला शिक्षा समन्वय इकाई, प्रदेश र केन्द्रसम्म माग गर्दा पनि माग सम्बोधन हुन सकेन । अघिल्लो वर्ष २९ दिनसम्म शिक्षक महासंघको आन्दोलनमा सहभागी भएको जनाउँदै उहाँले त्यहाँबाट आफूहरुको माग सम्बोधन नभएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार स्थायी शिक्षकको माग सधैं सम्बोधन हुने गरेको छ ।
विद्यालय सहयोगी राउतले माग राख्ने बेला १,२ नम्बरमा राख्ने र वार्ताको टेवलमा बस्दा १४, १५ नम्बरमा पुराउने गरेको गुनासो राख्नुभयो । उहाँले विद्यालय सहयोगीहको समस्यालाई शिक्षक महासंघले पनि प्राथमिकतामा नराखेको आरोप लगाउनुभयो ।
राज्यलाई विद्यालय सहयोगीको आवश्यक नभए खारेज गरिदिन सूझाव दिदैं उहाँले आवश्यक भए अनुगमन गरेर माग सम्बोधन गर्न आग्रह गर्नुभयो । खारेज गरे वैकल्पिक पेशामा जाने उहाँको धारणा छ । विद्यालय सहयोगीहरु वर्षौसम्म काम गरेर रित्तोहात अवकाश लिई रहनु भएको जानकारी दिनुभयो । खादामाला बोकेर अवकाश हुँदा नमिठो लाग्छ, उहाँले भन्नुभयो – अवकाश हुँदा खादामाला पनि लगाउन छोडौं । पेन्सन, उपदान पाउनेहरुले खादा लगाए भयो, खाली हात जानेले किन लगाउनु खादा र माला ?
उहाँका अनुसार ०६२-६३ मा माओवादीको भुई मान्छेको सरकार आए पनि माग सम्बोधन हुन सकेन । कांग्रेस, एमाले, माओवादी, राप्रपाहरुले नगरेको काम गर्ने भनेर आएको बालेन शाहले पनि माग सम्बोधनका लागि हालसम्म कुनै पहल नगरेको बुझाई छ । वर्तमान सरकारका शिक्षा मन्त्री सस्मित पोखरेलले पनि चिप्ला कुरा मात्रै गरेको उहाँको दावी छ । तपाईहरुले किन आन्दोलन गर्ने, माग सम्बोधन भइहाल्छ भनेर चिप्ला कुरा मात्रै गर्नुभयो, सम्बोधन हुने छाँटकाट पाएनौं । ज्ञापनपत्र बुझाउन जाँदा माग सम्बोधन भइहाल्ने जस्तो गरेर फर्काउने गरेको भन्दै उहाँले अहिलेका शिक्षामन्त्री विगतका मन्त्रीभन्दा चिप्ला कुरा गरेर फर्काउने गरेको सुनाउनुभयो ।
शिक्षकको २१ प्रतिशत तलव वृद्धि गर्दा विद्यालय सहयोगीको पनि गर्नुपर्ने थियो, उहाँले थप्नुभयो – अझै झिनो आशा छ । अब संस्था नै दर्ता गरेर माइतीघरमा जान्छौं, शहिद बन्न तयार छौं । समय बाँकी रहेको भन्दै उहाँले सरकारले तत्काल माग सम्बोधन नगरे आन्दोलनमा जाने चेतावनी दिनुभयो ।







प्रतिक्रिया