शिवसताक्षी । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारमा शनिबार भव्य रथयात्रा निकालिएको छ।
बैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले श्री सनातन धर्म संरक्षण समिति, शिवसताक्षीको आयोजनामा रथयात्रा निकालिएको हो। रथयात्राको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले उद्घाटन गर्नुभएको थियो।

शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरबाट सुरु भएको रथयात्रा भेलानुनी, कटुवालचोक, जनता चोक, हवल्दारचोकलगायतका प्रमुख स्थान हुँदै पाथीभरा मन्दिर, दुर्गा मन्दिर, कनकाई भगवती मन्दिर र शिवालय मन्दिरको परिक्रमा गरी पुनः शिवगञ्ज बजारमा आएर समापन गरिएको थियो।
रथमा भगवान् श्रीकृष्ण र राधाको मूर्ति राखिएको थियो। भक्तजनहरूले भजन–कीर्तन, धार्मिक गीत तथा जयजयकारसहित रथयात्रामा सहभागिता जनाएका थिए। धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तालाई सनातन धर्म, संस्कार र परम्परासँग जोड्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको आयोजकले जनाएको छ।
रथयात्रामा हजारौँ धर्मावलम्बी भक्तजनको सहभागिता रहेको श्री सनातन धर्म संरक्षण समिति शिवसताक्षीले जनाएको छ। महिला, पुरुष तथा बालबालिकासहित विभिन्न उमेर समूहका भक्तजनहरू उत्साहपूर्वक रथयात्रामा सहभागी भएका थिए।
कार्यक्रममा शिवसताक्षी नगरपालिका–६ का वडाध्यक्ष मनोज खुलाल कार्की, सिकिन पासवान, वडा सदस्य गोमा रिजाललगायत जनप्रतिनिधि, विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि, भजन मण्डलीका सदस्य तथा विभिन्न मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरिएको रथयात्राले शिवगञ्ज क्षेत्रमा धार्मिक तथा सांस्कृतिक वातावरण थप उत्साहपूर्ण बनाएको थियो। आयोजकका अनुसार यस्ता धार्मिक कार्यक्रमले मौलिक सनातन संस्कार, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक एकता र धार्मिक सद्भाव कायम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।








प्रतिक्रिया