बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ मा ‘प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता’ हुने भएको छ । खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने साथै खेलकुदको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मिलडाँडा युवा क्लब, अर्जुनधारा ११ को आयोजनामा आगामी असोज १७ गतेदेखि २४ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक युवा क्लवले आज अर्जुनधारा–११ स्थित वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो ।

अर्जुनधारा नगरपालिका–११, प्रगति टोलस्थित देउनिया खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा बढीमा आठ वटा भेट्रान्स फुटबल टोली सहभागी हुने खेल आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए । खेल संयोजक खतिवडाका अनुसार प्रतियोगितामार्फत स्थानीय समुदायमा आपसी भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवन शैलीप्रति समुदायलाई प्रेरित गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार १११ र द्वितिय हुने टोलीले नगद ३१ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक खतिवडाले बताए । त्यस्तै हरेक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार तथा फाइनलका बिधागत तर्फका उत्कृष्टले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा अन्य पुरस्कारको समेत व्यवस्था गरिएको खतिवडाले बताए ।
४० वर्ष उमेर समूहभन्दा माथिका खेलाडीलाई सहभागी गराएर नकआउट प्रणालीमा खेल सञ्चालन गरिन लागेको प्रतियोगिताका क्याप्टेन टेकराज थिलिङले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ९० हजार २ सय २२ रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको आयोजक क्लवले जनाएको छ । उक्त रकम खेलमैदान तयारी तथा व्यवस्थापन, खेलकुद सामग्री, खेलाडी पोशाक, रेफ्री तथा प्राविधिक व्यवस्थापन, मेडिकल सेवा, सुरक्षा, प्रचारप्रसार, उद्घाटन तथा समापन कार्यक्रम, फोटो–भिडियो तथा प्रत्यक्ष प्रसारणलगायतका शीर्षकमा खर्च गरिने बताइएको छ ।
प्रतियोगिताले स्थानीय तथा बाह्य खेलाडीबीच सम्बन्ध र सहकार्य विस्तार गर्नुका साथै अर्जुनधारा नगरपालिकामा खेलकुद गतिविधिको विकास र विस्तारमा योगदान पुग्ने विश्वास आयोजकको छ ।
खेल संयोजक खतिवडाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले प्रतियोगिताको सफलताको शुभकामना दिदै प्रतियोगितालाई सक्दो साथ र सहयोग गर्ने प्रतिवद्धता समेत दिए ।
यस्तै अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामले पनि प्रतियोगिता सफल बनाउन वडाले आर्थिक तथा भौतिक रुपमा सहयोेग गर्ने प्रतिबद्धता दिए । कार्यक्रममा अर्जुनधारा नगर खेलकूद समितिका अध्यक्ष सुरेन्द्र धिमाल, जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा), वडा सदस्य पूर्णबहादुर राई, क्लवका र खेलप्रेमीहरु सनम राई, किरणकुमार जबेगु, बीरबहादुर राई, सरोज बर्देवा, मोसेस खड्का, प्रदीप बस्नेतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव केशव अधिकारीले गरेका थिए ।








प्रतिक्रिया