Banner news

अस्ताउँदाे सूर्यलाई अर्घ्यसहित पूजाआजा

अस्ताउँदाे सूर्यलाई अर्घ्यसहित पूजाआजा


बिर्तामोड । छठ पर्वको मुख्य दिन आज झापाको विभिन्न छठघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरेका छन् ।

हिजो खरना विधि सम्पन्न गरी आज दिनभर निर्जल तथा निराहार व्रत बसेका व्रतालुले अघि बेलुका बाँसको सुपली र ढकनीमा सजाइएका नरिवल, उखु, केरा, ठेकुवा, फलफूललगायतका पूजासामग्रीसहित अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका हुन् । अघि बेलुका ५ बजेर ११ मिनेटमा सूर्यास्त भएको हो ।

अब आज रातभर जागा बसी भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि व्रतालुले प्रसाद ग्रहण गरी आफ्नो कठोर व्रत समापन गर्छन् । भोलि बिहान ६ बजेर २५ मिनेटका सूर्योदय हुनेछ ।

छठ पर्वलाई परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै मनाइने विशेष पर्वका रूपमा लिइन्छ । यस पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, सद्भाव र प्रकृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ ।
केही वर्षअघिसम्म तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । २०४६ देखि सरकारले छठ पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष सरकारले उदाउँदो सूर्यलाई अघ्र्य दिने दिन अर्थात् भोलि पनि सार्वजनिक बिदा दिएको छ ।

छठ पर्वका अवसरमा तराई, मधेशसँगै काठमाण्डौ उपत्यका र अरू ठाउँका नदी, पोखरी तथा जलाशय झकिझकाउ बनाइएका छन् । छठघाटहरूमा व्रतालुसँगै दर्शनार्थीहरूको ठूलो भीड लागेको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu