बिर्तामोड । छठ पूजाका लागि झापा बिर्तामोडका ब्रतालुहरु ८ किलोमिटर पश्चिम बिरिङ खोला जाने गरेका छन् । अदुवा खोलामा पूजा गर्दै आएका यहाँका ब्रतालुहरु पछिल्लो एक दशकदेखि बिरिङ खोला जान बाध्य छन् ।
२०४६ सालदेखि बिर्तामोड क्षेत्रका ब्रतालुहरुले अदुवा खोलामा पूजा गर्दै आएका थिए । विनायक होटल नजिकै वर्षौसम्म पूजा गरेका ब्रतालुहरु बिरिङ जानुअघि पाथीभरा सिनेप्लाजा नजिकै अदुवा खोलामा पूजा गर्थे । छठ समाज सेवा समिति बिर्तामोडका पूर्वअध्यक्ष घनश्याम चौधरीले ब्रतालुहरु बाध्यताकै कारण बिरिङ जानु परेको बताए । बिर्तामोडमा पूजा गर्ने ठाउँ अभाव भएकै कारण बिरिङ जानुपरेको उनको धारणा छ । बिर्तामोडमा पानी छ, तर पूजा गर्ने ठाउँ समस्या छ, चौधरीले भने – बिरिङ जानु हाम्रो रहर होइन । बिरिङमा पनि समस्यै छ ।

०७१ सालदेखि यहाँका ब्रतालुहरु बिरिङ जान थालेका हुन् । बिरिङमा पनि हरेक वर्ष पानीको बहाब र धार परिवर्तन हुँदा घाट निर्माण लगायतका व्यवस्थापन पक्ष समस्या हुने गरेको छ । स्थायी संरचना नभएपछि बिरिङमा पनि विभिन्न प्राविधिक समस्याहरु आइरहने पूर्वअध्यक्ष चौधरीको भनाई छ ।
०४६ तिर बिर्तामोडमा पूजा गर्ने ब्रतालु परिवारको संख्या २०-२५ मात्रै रहेको थियो । अहिले बिरिङ खोलामा करिव ५ सय परिवारले पूजा गर्ने गरेको छ । २५० घाटमा २-३ परिवारसम्म मिलेर पूजा गर्ने गरेको चौधरीको भनाई छ ।
उनका अनुसार ब्रतालुहरुको संख्या बढेसँगै बिर्तामोडको अदुवा खोलामा हुने पूजा बिरिङमा हुन थालेको हो । अदुवा खोलाको किनारमा पूजा गर्ने ठाउँ छैन, चौधरी भन्छन् – खोला किनारमा घर छन् कि त पक्का संरचना छन् । पानी सफा गरेर उभिन सकिएला तर पूजा गर्नलाई घाट बनाउन गाह्रो छ ।
हरेक वर्ष ब्रातलुको संख्या थपिदैं जाँदा बिरिङ खोलामा पनि स्थायी संरचनाको अभाव हुने गरेको छ । स्थायी संरचनाको अभावले पर्याप्त सजिसजावट गर्न पनि समस्या हुने गरेको बताउँछन् । बिरिङमा चारपाने, लक्ष्मीपुर र दुर्गापूरका ब्रतालुसमेत पूजा गर्न सहभागी हुने गरेका छन् ।
बिर्तामोडमा छठ पूजाका लागि स्थायी संरचनाको आवश्यक भएको उनको धारणा छ । पूर्वअध्यक्ष चौधरीले बिर्तामोडमा स्थानीय सरकारले सरकारी जमिन खोजेर उक्त संरचना निर्माणमा ध्यान दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
पूजा विधि अनुसार खोला काटेर जान नहुने धार्मिक विश्वास रहेको छ । बिरिङसम्म पुग्दा धेरै खोलाहरु काटेर जानु परेको ब्रतालु बताउँछन् । अदुवा खोलामा पनि केहि परिवारले पूजा गर्नुहुन्छ , एक ब्रतालु भन्छन् – पूजा हुने खोला काटेर जानु राम्रो मानिदैन । तर, बाध्यता छ ।
बिरिङ खोला दुरीका हिसावले पनि टाढा हुँदा दण्डप्रणाम गर्न ब्रतालुलाई कठिनाई हुने गरेको छ । ब्रतालु, पूजामा सहभागी हुन चाहेन सर्वसाधारणहरुलाई पनि आउजाउमा समस्या हुने गरेको छ । नजिकै हुँदा सबैलाई सहज हुने पूजा टाढा हुँदा असहज हुने गरेको छ ।
झापामा बिरिङसहित रतुवा, मेची, अर्जुनधारा, धुलावारी, कनकाई माई, बिर्ताबजारस्थित अदुवा खोला लगायतका नदीहरुमा छठ पूजा हुने गरेको छ । छठ पूजामा पछिल्लो समय गैर मधेशी समुदायको पनि उत्तिकै आकर्षण थपिएको छ ।







प्रतिक्रिया