म्याड्रिड, ३० कात्तिक। स्पेनको क्यानरी टापुहरूमा करिब १,५०० आप्रवासी आइपुगेका छन्।
समुद्री उद्धार सेवालाई उद्धृत गर्दै ‘ईएफई’ समाचार एजेन्सीले आइतबार जनाए अनुसार सन् २०२० यता एकै दिनमा भित्रिएका आप्रवासीहरूको यो सङ्ख्या सबैभन्दा बढी हो।
‘ईएफई’ का अनुसार, स्पेनको तटरक्षक बलले १४ वटा डुङ्गामा रहेका कुल १,४८८ जनालाई उद्धार गरेको छ। अक्टोबर महिनायता पश्चिम अफ्रिकी मुलुकहरूबाट स्पेनका यी टापुहरूमा आउने आप्रवासीहरूको सङ्ख्यामा तीव्र वृद्धि देखिएको छ।

समुद्री उद्धार सेवाका अनुसार यसअघि सन् २०२० को नोभेम्बर ७ मा क्यानरी टापु नजिकको समुद्री क्षेत्रबाट १,४६१ जनालाई उद्धार गरिएको थियो, जुन त्यसबेलासम्मको एकै दिनको उच्च रेकर्ड थियो।
यद्यपि यस वर्ष आप्रवासीहरूको आगमन गत वर्षको सोही अवधिको तुलनामा केही घटेको छ तर गत महिना देखिएको अचानक वृद्धिका कारण क्यानरी टापुहरूका केही स्थान विशेष गरी साना र कम जनसङ्ख्या भएका टापुहरूमा आप्रवासी व्यवस्थापन तथा आपतकालीन सेवाहरूमा थप चाप परेको छ।
अधिकारीहरूका अनुसार एउटा डुङ्गामा १२ महिला र ३६ बालबालिकासहित २४० जना सवार थिए। उद्धार गरिएका आप्रवासीहरूलाई क्यानरी टापुहरूमध्ये सबैभन्दा सानो टापु ‘एल हिएरो’ लगियो। त्यहाँ पुगेका अधिकांश मानिस सेनेगल, गाम्बिया र गिनी कोनाक्रीका थिए।
एल हिएरोमा १२ वटा डुङ्गा आइपुगे, साथै ग्रान क्यानारियामा एउटा र टेनेरिफमा अर्को एउटा डुङ्गा आइपुग्यो।
आप्रवासीहरूको आगमनमा भएको वृद्धिका विषयमा छलफल गर्न स्पेनका क्षेत्रीय नीति मन्त्री एन्जेल भिक्टर टोरेस आइतबार एल हिएरोको भ्रमण गर्नेछन्।
पश्चिम अफ्रिकाबाट क्यानरी टापुहरूसम्मको आन्ध्र महासागर (एट्लान्टिक) मार्ग विश्वकै सबैभन्दा खतरनाक आप्रवासी मार्गहरूमध्ये एक हो। हरेक वर्ष हजारौँ आप्रवासीहरू निकै धेरै मानिस कोचेर भरिएका डुङ्गामा चढी, समुद्रको कठिन अवस्था, तीव्र बहाव र लामो दूरीको परवाह नगरी स्पेनिस भूभाग पुग्ने प्रयास गर्छन्।
शरद ऋतुका महिनाहरूमा यहाँ आइपुग्ने आप्रवासीहरूको सङ्ख्या बढ्ने गर्छ किनकि यस समयमा उक्त मार्गमा समुद्री अवस्था सामान्यतया शान्त र यात्राका लागि बढी अनुकूल हुन्छ।
सरकारी तथ्याङ्क अनुसार जनवरीदेखि अक्टोबर ३१ सम्म क्यानरी टापुहरूमा आइपुग्ने आप्रवासीहरूको सङ्ख्या भने गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले घटेको छ।







प्रतिक्रिया