बिर्तामोड

न्यौपाने बन्धु समाजद्वारा आठ जनालाई उपचार सहायता

न्यौपाने बन्धु समाजद्वारा आठ जनालाई उपचार सहायता


बिर्तामोड – न्यौपाने बन्धु समाज झापाले दीर्घरोगबाट पीडित सातजना बन्धु सदस्य र समाज बाहिरका एक जनालाई उपचार सहायता प्रदान गरेको छ ।

समाजका अग्रज सल्लाहकार तथा शिक्षासेवी स्वर्गीय गुरुभक्त न्यौपानेको वार्षिक पुण्यतिथिमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अवसरमा आठ जनालाई जनही पाँच हजार रुपैयाँका दरले सहायता रकम वितरण गरिएको हो ।

न्यौपाने बन्धु समाजको नीतिअनुसार दीर्घरोगबाट पीडित बन्धु तथा तिनका परिवारलाई उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराइएको समाजका अध्यक्ष मेदनीप्रसाद न्यौपानेले बताउनुभयो ।

समाजको आग्रहमा स्वर्गीय गुरुभक्त न्यौपानेको परिवारले उपचार सहायताका लागि रकम उपलब्ध गराएको हो । महायज्ञकै क्रममा उहाँका बुबाआमा नन्दलाल र चन्द्रमाया न्यौपाने, श्रीमती डिल्लीकुमारी र छोरा डा. केशव न्यौपानेले संयुक्त रूपमा सहायता रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहायता पाउनेमा मेचीनगर-१४ की डेगमाया न्यौपाने, गौरादह-६ का दुर्गा न्यौपाने, बिर्तामोड-७ का राजेन्द्र न्यौपाने, अर्जुनधारा-६ का हरिप्रसाद न्यौपाने, अर्जुनधारा-११ की देवीमाया न्यौपाने, अर्जुनधारा-४ की दिलमाया न्यौपाने र कचनकवलका कुलप्रसाद न्यौपाने रहेका छन् ।

समाजले बिर्तामोड-४ का उज्ज्वल ठाकुरलाई पनि पाँच हजार रुपैयाँ उपचार सहायता प्रदान गरेको छ। रकम हस्तान्तरण कार्यक्रममा न्यौपाने बन्धु समाजका केन्द्रीय सचिव सन्तोष न्यौपाने, जिल्ला उपाध्यक्ष नरहरि न्यौपाने लगायतको उपस्थिति थियो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu