Banner news

बिर्तामोडमा बसले चारवटा सवारीलाई ठक्कर दिँदा ५ जना घाइते

बिर्तामोडमा बसले चारवटा सवारीलाई ठक्कर दिँदा ५ जना घाइते


बिर्तामोड । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–१ स्थित एडभान्स हस्पिटल अगाडि आज दिउँसो यात्रुवाहक बसले चारवटा सवारी साधनलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।

दिउँसो करिब १ बजेर १० मिनेट जाँदा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १ ख ६६०८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको डब्लुबी ७४ एभी ५६६१ नम्बरको भारतीय कार, मे ११ प ८४०४ नम्बरको मोटरसाइकल, को २ ह ५१९४ नम्बरको अटो र को.प्र.०१–०३ ह १७७९ नम्बरको सिटी सफारीलाई एकैसाथ ठक्कर दिएको हो । तीव्र गतिका कारण अनियन्त्रित भई उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा सिटी सफारीमा सवार मेचीनगर नगरपालिका–४ निवासी सुनिल सुवेदीकी १४ वर्षीया छोरी जस्मिन सुवेदी र मोटरसाइकल चालक बाह्रदर्शी गाउँपालिका–६ का २७ वर्षीय युवराज भुजेल रहेका छन् । दुवै हातखुट्टा तथा निधारमा चोट लागेकी सुवेदी र दुवै हातखुट्टामा चोट लागेका भुजेलको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । यस्तै, भारतीय कारमा सवार भारतको सिलिगुडी निवासी करिब ४२ वर्षीय राम कुमार अधिकारी, उनकी १० वर्षीया छोरी शिक्षा अधिकारी र बाह्रदर्शी गाउँपालिका–६ की ३७ वर्षीया चन्द्र बुढाथोकीको हातखुट्टामा सामान्य चोट लागेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न सवारी साधन तथा चालकहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बस चालक सुनसरीको दुहबी नगरपालिका–८ का ३२ वर्षीय विष्णु प्रसाद आचार्य, अटो चालक बाह्रदर्शी–६ का २३ वर्षीय सन्तोष मगर, सिटी सफारी चालक बुद्धशान्ति गाउँपालिकाका सुरज दर्जी र कार चालक भारत मणिपुरका करिब ४२ वर्षीय अर्जुन महतलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

प्रहरीका अनुसार चालकहरूले मादक पदार्थ सेवन (मापसे) नगरेको पुष्टि भएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) जाँचका क्रममा बस, कार र मोटरसाइकल चालकसँग अनुमति पत्र रहेको तर अटो र सिटी सफारी चालकसँग अनुमति पत्र नभएको पाइएको छ । दुर्घटनाग्रस्त बस, मोटरसाइकल, अटो र सिटी सफारीलाई इप्रका अनारमनीमा तथा भारतीय कारलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu