काठमाडौं, १ मंसिर । रास्वपाको झन्डै दुई तिहाइको सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने भएको छ । एमाले अध्यक्ष केपी ओलीले मंगलबार अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै आन्दोलनको तयारीमा बस्ननिर्देशन दिएका छन्।
ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिएका छन् ।
उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्नेसमेत बताए।

ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताए।
एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे।
ओलीले अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति एमाले भएको जिकिरसमेत गरे। उनले नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको भन्दै यस्तो अवस्थामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्ने बताए।
‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुईवटा महत्त्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ। एउटा, हामीले आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथीहरू सधैँ हरदम तयार हुनुहोला। आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन,’ उनले भने, ‘असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ। उहिले १९१७ मा रुसमा दुई दिनको ठूलो विद्रोहबाट सत्ता उलटफेर भएको थियो। कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट, कहीँ जनविद्रोहबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ। तसर्थ कुनै पनि समयमा आन्दोलनमा जानुपर्छ, साथीहरू त्यसको तयारीमा जुट्नुहोला। मानसिक रूपले पनि तयार रहनुहोला।’







प्रतिक्रिया