मुख्य समाचार

भाइटीकाले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव प्रगाढ बनाउँछ : मुख्यमन्त्री कार्की

भाइटीकाले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव प्रगाढ बनाउँछ : मुख्यमन्त्री कार्की


विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् सांस्कृतिक एवं धार्मिक पर्व तिहारको पाँचौँ तथा अन्तिम दिन भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै कोशी प्रदेशवासीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको हो।

उहाँले आपसी प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने भाइटीका पर्वको विशिष्ट सांस्कृतिक महत्त्व रहेको उल्लेख गर्नुभएको छ। दाजुभाइ तथा दिदीबहिनीबीचको अटुट स्नेह, विश्वास र सम्मानलाई जीवन्त राख्दै सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न यस पर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारलाई यमपञ्चकका रूपमा समेत चिनिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यस अवधिमा काग, कुकुर, गाई, गोरु तथा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिनुका साथै गोवर्धन पूजा र म्हः पूजा गर्ने परम्परा रहेको बताउनुभएको छ।

तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, माला तथा सगुन दिने र दाजुभाइहरूले पनि दिदीबहिनीप्रति प्रेम, सम्मान र स्नेह प्रकट गर्दै उपहार आदानप्रदान गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभएको छ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको नेपाली समाजमा तिहारजस्ता मौलिक पर्वहरूले विविधताबीचको एकता, आपसी भाइचारा र सहअस्तित्वको भावनालाई थप मजबुत बनाउने मुख्यमन्त्री कार्कीले बताउनुभएको छ। यस्ता पर्वका माध्यमबाट मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्दै सामाजिक एकता र राष्ट्रिय सद्भाव अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

प्रेम, सद्भाव, भाइचारा र उज्यालोको प्रतीक तिहारले सबैबीच आपसी एकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भाव अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले हरेक नेपालीको जीवनमा नयाँ आशा, उत्साह, उमङ्ग र समृद्धिको उज्यालो छर्दै सुख, शान्ति, खुसी र सुस्वास्थ्य प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu