झापा, मङ्सिर १ । झापाको शिवसताक्षीस्थित धार्मिक तथा पौराणिक महत्त्व बोकेको शताक्षी धाममा आयोजना हुने सतकुण्डीय गायत्री कोटी हवनको भूमिपूजन सुनको हलोले गरिने भएको छ।
गोलोक गोवर्धन गौशालाको आयोजनामा आगामी २०८३ माघ ९ गतेदेखि सञ्चालन हुने कोटी हवनको मुख्य हवन कुण्ड सुनको हलोले खनेर भूमिपूजन गर्न लागिएको हो। ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यसबेला एक करोड गायत्री मन्त्रद्वारा होम गरिएको थियो। त्यसको ४२ वर्षपछि झापामा दोस्रोपटक कोटी हवन आयोजना हुन लागेको आयोजकको भनाइ छ।

यस ऐतिहासिक धार्मिक अनुष्ठानको भूमिपूजन मङ्सिर ५ गते बिहान ११ बजे विश्वका विभिन्न देशबाट आउने सन्त महात्माको उपस्थितिमा गरिने गोलोक गोवर्धन गौशालाका संरक्षकसमेत रहेका अध्यक्ष आचार्य नन्दकिशोरजी महाराजले जानकारी दिए। उनका अनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, भारत, भुटान र नेपालका धार्मिक गुरुहरूको सहभागिता रहनेछ। कोटी हवनको तयारी तथा व्यवस्थापनका विषयमा मङ्गलबार गौशाला परिसरमा आयोजित विद्वत् वर्गको भेलामा विगतका धार्मिक अनुष्ठानको समीक्षा गर्दै राम्रा अभ्यासलाई निरन्तरता दिने र कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा सहभागीले जोड दिएका थिए।
झापाका व्यवसायी लीला चिमरियाले विगतका कार्यक्रमबाट प्राप्त अनुभवका आधारमा यसपटक पिउने पानी, विद्युत्, सञ्चार, आवास र शौचालयलगायतका आधारभूत सुविधाको पूर्ण व्यवस्थापन गर्नुपर्ने बताए। अघिल्लो १०८ कुण्डीय कोटी हवनका क्रममा आयोजकले भोगेका असहजता यसपटक दोहोरिन नदिन समयमै व्यवस्थापकीय तयारी गर्नुपर्ने उनको भनाइ थियो।
शताक्षी धाममा २०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएको हो। गौशालामा हाल २ हजार ५०० भन्दा बढी गाईको संरक्षण भइरहेको छ। गौशाला स्थापनापछि धाम परिसरमा दर्जनौँ मठमन्दिर, देवालय, अतिथि गृह, सुविधासम्पन्न गौशाला, रामदरबार, द्वादश ज्योतिर्लिङ्गलगायतका धार्मिक संरचना निर्माण भएका छन्।
यसका साथै सडक कालोपत्रे, विद्युत् र खानेपानीजस्ता पूर्वाधारसमेत विस्तार भएका छन्। स्थानीयका अनुसार सन्त महात्माको नियमित आवागमन र धार्मिक गतिविधिका कारण शताक्षी धाममा पूर्वाधार विकाससँगै धार्मिक पर्यटनको गतिविधि पनि बढेको छ। स्थानीय कपिलमणि पोखरेलले आचार्य नन्दकिशोरजी महाराजको आगमनपछि शताक्षी धाम क्षेत्रले विकासमा नयाँ गति लिएको बताए। सन्त महात्मा तथा धार्मिक व्यक्तित्वहरूको आगमनले यस क्षेत्रको धार्मिक पहिचान र पर्यटन प्रवर्द्धनमा योगदान पुगेको उनको भनाइ छ।







प्रतिक्रिया