सम्पादकीय
पूर्वको प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्र झापाको बिर्तामोडमा पछिल्लो समय वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढ्दै गएको छ । विश्वसनीय मौसम मापन सूचकांक ‘एक्कुवेदर’ का अनुसार बिर्तामोडको वायु गुणस्तर सूचकांक (एक्यूआई) दैनिक १५० देखि २०० को हाराहारीमा पुग्ने गरेको छ । जुन जनस्वास्थ्यका दृष्टिकोणले ‘अस्वस्थकर’ श्रेणीमा पर्दछ । अझ जाडो मौसम सुरु भएसँगै चिसो हावा र कुहिरोका कारण धुलो तथा धुवाँका कणहरू वायुमण्डलको तल्लो तहमा थुप्रिँदा यहाँको हावा थप विषाक्त बन्दै गइरहेको छ । यो अवस्था समयमै नियन्त्रण नगरे भयावह जनस्वास्थ्य संकट निम्तिने निश्चित छ ।
अस्वस्थकर हावाको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्ने भएकाले तत्कालका लागि नागरिक स्वयं सचेत भई सुरक्षित रहन आवश्यक छ । विशेषगरी बिहान र साँझको समयमा प्रदूषणको मात्रा उच्च हुने भएकाले मर्निङ वाक वा बाहिरी शारीरिक व्यायाम कम गर्नुपर्छ । घरबाहिर निस्कँदा अनिवार्य रूपमा गुणस्तरीय मास्क प्रयोग गर्ने, घरका झ्यालढोका अनावश्यक रूपमा खुला नराख्ने र प्रशस्त पानी पिउने बानी बसाल्नुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक तथा दम र मुटुरोगीहरूले विशेष सतर्कता अपनाउनु जरुरी छ ।
वायु प्रदूषण नियन्त्रण सरकार वा स्थानीय तहको मात्र जिम्मेवारी होइन, यसमा आम नागरिकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । जाडो छल्न भन्दै चोकचोकमा प्लास्टिक, टायर र फोहोरमैला बाल्ने प्रवृत्ति तत्काल रोक्नुपर्छ । खेतबारीमा पराल जलाउने कार्य बन्द गरी कम्पोस्ट मल बनाउनेतर्फ लाग्नुपर्छ । छोटो दूरीको यात्राका लागि सवारी साधनको सट्टा पैदल हिँड्ने वा साइकल प्रयोग गर्ने, पुराना र धुवाँ फाल्ने सवारीको मर्मतसम्भार गर्ने तथा घरआँगन र सडक किनारमा वृक्षरोपण गरी हरियाली प्रवद्र्धन गर्नसके हावाको गुणस्तर सुधार्न सकिन्छ । स्वच्छ हावामा सास फेर्न पाउनु नागरिकको मौलिक हक हो भने वातावरण जोगाउनु कर्तव्य हो । त्यसैले बिर्तामोडलाई बस्नयोग्य र स्वस्थ सहर बनाइराख्न आजैबाट प्रत्येक नागरिक जिम्मेवार बन्नु अपरिहार्य छ ।







प्रतिक्रिया