बिर्तामोड । नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रविन रेग्मीले आफ्ना छोराछोरीलाई घरमै बनाएको खाजा विद्यालय पठाउन अभिभावकलाई आग्रह गर्नुभएको छ । घरमा बनाएको जति सफा र स्वस्थ खाजा विद्यालयमा पाउन मुस्किल हुने उहाँको भनाइ छ ।
बिर्तामोडस्थित कनकाई हस्पिटलमा कार्यरत डा. रेग्मीले विद्यालयको क्यान्टिनको खाजाभन्दा घरमै बनाएको खाजा खुवाउनु राम्रो हुने बताउनुभयो । नेपालमा अन्य देशको जस्तो घरबाट खाजा पु¥याउन नसकिने बाध्यता नरहेको उहाँको धारणा छ । घरमा आमाबुबाले बनाएको स्वस्थ र सफा खाजाले बालबालिकाको स्वास्थ्य राम्रो हुने उहाँले बताउनुभयो ।

उपचारका लागि अस्पताल आउने धेरैजसो अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयकै खाजा खुवाउने गरेको उहाँले अनुभव सुनाउनुभयो । विदेशमा सानो परिवार हुने र आमाबुबा दुवै काममा जानुपर्ने भएकाले त्यहाँ विद्यालयको खाजा बाध्यता जस्तै हुने उहाँको भनाइ छ । ‘म विदेशमा पनि बसेर काम गरेको छु, त्यहाँ परिवारलाई बाध्यता नै हुन्छ । त्यहाँ खानेकुराको गुणस्तर जाँच्ने निकाय पनि कडा हुन्छन् र नियमित अनुगमन पनि हुन्छ,’ उहाँले भन्नुभयो ।
विदेशमा खाद्य गुणस्तर जाँच्ने निकायप्रति विश्वास हुने भएकाले अभिभावकले ढुक्कले विद्यालयको खाजा खुवाउने गरेको डा. रेग्मीले बताउनुभयो । तर, यहाँ भने पछिल्लो समय विद्यालयमै खाजा खुवाउने चलन बढेको छ । कतिपयलाई बाध्यता भए पनि धेरै अभिभावकले अरूको देखासिकी गरेर विद्यालयकै खाजा खुवाइरहेको उहाँको भनाइ छ ।
बालबालिकालाई घरको पोसिलो खानाबाट वञ्चित नगर्न उहाँले अनुरोध गर्नुभयो । ‘विद्यालयले पनि राम्रै गर्न खोजेको होला, तर चाहँदाचाहँदै पनि घरको जस्तो नहुन सक्छ,’ उहाँले भन्नुभयो । विद्यालयको खाजामा सरसफाई र गुणस्तर नपुग्न सक्ने भएकाले अभिभावक सचेत हुनुपर्ने उहाँको सुझाव छ ।
घरको खाजामा पोषणसँगै माया पनि जोडिएको हुने भन्दै सकेसम्म घरबाटै खाजा पठाउन उहाँले जोड दिनुभयो । विदेशको चलन नेपालमा ल्याउँदा धेरै कुरा सोच्नुपर्ने उहाँको भनाइ छ । यहाँ अनुगमन कमजोर भएकाले बालबालिकाले मैदाका परिकार र प्याकेटका जंकफुड धेरै खाइरहेको उहाँले बताउनुभयो ।
खानपिनमा ध्यान नदिँदा बालबालिकालाई टाइफाइड, पेटको संक्रमण र पछि गएर ठूला रोग लाग्न सक्ने उहाँले चेतावनी दिनुभयो । सानै उमेरमा मधुमेह (सुगर) र उच्च रक्तचापको समस्यासमेत देखिन सक्ने उहाँको भनाइ छ । त्यसैले आफ्नो मौलिकता नबिर्सन र सकेसम्म घरबाटै खाजा पठाउन डा. रेग्मीले सबैलाई आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, विद्यालयले खराव खुवाउछन् भन्ने मेरो भनाई होइन । सकेसम्म नानीबाबुहरुलाई घरमै बनाएको खाजा खुवाउनुपर्छ भन्ने मात्र हो ।







प्रतिक्रिया